कुर्सीबाट लडेर गम्भीर घाइते भएका कञ्चनपुरका शिक्षक चिमाडीको मृत्यु

  बिहिबार ०७, मङि्सर २०८० १३:०७

कञ्चनपुर । कञ्चनपुरमा कुर्सीबाट लडेर गम्भीर घाइते भएका शिक्षकको मृत्यु भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका–५ मा रहेको गणेश माध्यमिक विद्यालयका शिक्षक शंकर चिमाडीको आज मृत्यु भएको हो।

विद्यालयमा पढाउने बेला उनी एक्कासी कुर्सीबाट लडेर गम्भीर घाइते भएका थिए। ४ दिनदेखि अचेत अवस्थामा रहेका उनको नवजिवन अस्पताल धनगढीमा उपचार भइरहेको थियो।

४ गते स्कुलमा कुर्सीमा बसेका बेला कुर्सीबाट लडेर टाउकोमा चोट लागेको थियो। लडेर टाउकोमा गम्भीर चोट लागेपछि नशामा रगत जमेको अस्पताल श्रोतले जनाएको थियो।

टाउकोको अप्रेशन पश्चात पनि उनी होसमा आएका थिएनन्। र, आज विहान ६ बजे तिर उनको मृत्यु भएको कुरुवामा खटिएका शिक्षक बमबहादुर बुढाले जानकारी दिए।

अचेत अवस्थामा अस्पताल पुर्याएको र डक्टरको सल्लाह अनुसार उपचार गराउने क्रममा उनको मृत्यु भएको शिक्षक बुढाले बताए। मृतक शिक्षक चिमाडीका २ छोरी र १ छोरा छन्।

clock बिहिबार ०७, मङि्सर २०८० १३:०७

प्रतिक्रिया