दसैँ र तिहार सकिएसँगै खाली हुँदै गाउँ बस्ती

  बुधबार ०६, मङि्सर २०८० १५:१५

बाजुरा । बाजुरामा दसैँ र तिहार सकिएसँगै अधिकांश गाउँ बस्ती खाली हुन थालेका छन्। पर्व मनाउन गाउँ बस्तीमा आएका विद्यार्थी तथा परदेशी युवा कात्तिक र मङ्सिरमा गहुँ खेती लगाएर पढ्न तथा रोजगारीका लागि फेरि सहर फर्किन थालेपछि बाजुराका अधिकांश गाउँ बस्ती खाली हुँदै गएका हुन्।

बुढीगङ्गा नगरपालिका–१० का स्थानीय युवा रवीन्द्र सार्कीले, दसैँ र तिहार सकिएसँगै  कामको खोजीका लागि भारतमा जान थालेको बताए । बाजुराका अधिकांश स्थानीय कामको खोजीमा प्रत्येक वर्षमा यसरी नै रोजगारीका लागि भारतमा जान्छन्। असार र हिउँद गहुँ खेती लगाएपछि अन्य महिना रोजगारीका लागि युवा भारतमा जाने गरेका हुन्।

जिल्लाको हिमाली, बुढीनन्दा, स्वामिकार्तिक, जगनाथ, बडिमालिका, गौमुल बुढीगङ्गा, त्रिवेणी र छेडेदह लगायतका अधिकांश युवा रोजगारीका लागि भारतका विभिन्न ठाउँमा जाने गर्दछन्। यहाँका स्थानीयको कात्तिक र असार खेती लगाइएपछि अन्य महिना रोजगारीका लागि भारतमा जाने चलन पहिलेदेखि अहिलेसम्म उस्तै हो । गाउँमा रोजगारीका सम्भावना केही नभएकोले यहाँका युवाले भारतमा गएर परिवार पाल्नुपर्ने बाध्य भएको बडिमालिका–५ का स्थानीय भाने साउदले जानकारी दिए । 

गाउँमा प्रशस्त जमिन भए पनि त्यो जमिनमा सिँचाइ छैन। सिँचाइ नभएपछि खेती सबै सुकेर जान्छ। यता हिउँदको खेती पाक्ने समयमै असिना पानीले सबै सखाप पार्छ। बर्खामा लगाएको खेती बसै बाढीपहिरोले बगाउँछ। हिउँदमा बाटो बनाउन डोजर चलेकाले पहिरोको जोखिम जताततै देखिएको छ। गाउँमा भएका युवालाई रोजगारीको अवसर छैन। गाउँमा केही रोजगारी नमिलेपछि कामकै खोजीका लागि भारतमा जानु परेको हो।

पछिल्लो समय गाउँमा खानेपानी बाटोको केही सुविधा भएपनि खेती गर्न सिँचाइको समस्या उस्तै रहेको छ। कात्तिकको दोस्रो हप्तादेखि अहिलेसम्म बाजुराबाट दैनिक १२ वटा बस दैनिक छुट्ने गरेको बुढीगङ्गा नगरपालिका–६ बाम्काबजार टिकट काउन्टरका प्रमुख छत्रबहादुर थापाले जानकारी दिए।

यसमा कोही काठमाडौँ , नेपालगञ्ज जाने हुन्छन् भने बाँकी सबै धनगढी, महेन्द्रनगरदेखि भारतमा जाने गरेको थापाले बताए। बाजुराबाट केही युवा पछिल्लो समय मलेसिया, युएई, कतारलगायतका खाडी मूलकमा जाने गरेको भए पनि अधिकांश युवा भने भारतमा मात्र रोजगारीका लागि जाने गर्दछन्। 

clock बुधबार ०६, मङि्सर २०८० १५:१५

प्रतिक्रिया