कञ्चनपुरको भीमदत्तमा रोयल्टी ठेक्का नगरिएको भन्दै नगरपालिका घेराउ

  बुधबार ०६, मङि्सर २०८० १३:३२

कञ्चनपुर। कञ्चनपुरको भीमदत्तमा रोयल्टी ठेक्का नगरिएको भन्दै नगरपालिका घेराउ गरिएको छ। असोज १ गतेसम्म नदीजन्य पदार्थको उत्खननका लागि ठेका लगाउनुपर्ने भएपनि तीन महिनासम्म नलगाएको भन्दै स्थानीयले नगरपालिका घेराउ गरेका हुन्।

असोज १ गते सम्म नदीजन्य पदार्थको उत्खननका लागि ठेका लगाउनु पर्ने भए पनि भीमदत्तले विभिन्न कारण देखाएर समयमै ठेका सम्झौता गर्न नसक्दा भीमदत्त नगरपालिका ११, १२ र १३ का स्थानीय तथा निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन्। यस वर्ष समयमै महाकालीका नगरपालिकाको वेवास्ताका कारण काम गर्न नपाउँदा दैनिक छाक टार्न समस्या भएको आन्दोलित स्थानीय बताउँछन्।


ढुवानी व्यवसायी राजु विष्टले नगरपालिकाका जनप्रतिनिधिको चरम लापरबाही, ढिलासुस्ती र क्रसर व्यवसायीको मिलेमतोमा व्यवसायीहरुलाई मारमा पारेको र अविलम्ब महाकालीलगायत जिल्लाका ठूला साना खोलामा नदीजन्य पदार्थको ठेक्का लगाउन मागसहित आन्दोलन गर्नु परेको बताए।

असोज १ गते नै खोल्नुपर्ने घाटहरु समयमै नखोल्दा आफुहरुले जबरजस्ती नदीजन्य पदार्थ उठाउनु पर्ने बाध्यता आएको एक साताभित्र समस्या समाधानको आश्वासन दिएको एक महिना थपिँदा समेत समस्या समाधानका लागि नगरपालिकाले कुनै चासो नदिएको र आफुहरुको व्यवसाय नै धरापमा पर्ने देखिएपछि शसक्त आन्दोलनमा जानु पर्ने बाध्यता रहेको र सोबाट हुने क्षतिको जिम्मा भीमदत्त नगरपालिकाले लिनु पर्ने भन्दै ढुवानी व्यवसायी भोज बहादुर ठगुन्नाले आक्रोश पोखे।

भीमदत्त नगरपालिकाले गत फागुनमा महाकाली नदीको इआएका लागि सार्वजनिक सूचना गरी परामर्शदाता नियुक्त गरेको थियो। परामर्शदाताले दुई महिना अघि मन्त्रालयमा बुझाएको प्रतिवेदन स्वीकृत नभएर ठेक्का लगाउन नसकिएको नगरपालिका कार्यालयले जनाएको छ।

भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोकटीले अबका ७ दिन भित्र ठेक्का नलागे कार्यपालिकाबाट निर्णय गराई अमानतबाट भए पनि नदीजन्य पदार्थ उत्खननका लागि घाट खोलिने र राजश्वलाई लाई चुहावट हुन नदिन ५ वटा घाटमा सिसिटिभी जडान गर्ने तथा राजश्व समेत अनलाईनबाटै काट्ने गरी नगरपालिकाले तयारी गरिरहेको बताएका छन्।

clock बुधबार ०६, मङि्सर २०८० १३:३२

प्रतिक्रिया