सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज र भोलि वर्षाको सम्भावना

  सोमबार २९, असोज २०८० १२:३३

काठमाडौं । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा दुई दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद गंगा नगरकोटीले आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको बताइन् । यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जाँदा कमजोर बन्दै जाने उनको भनाइ छ ।

पश्चिमी भूभागमा गएराति पनि वर्षा भएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा असिना समेत पर्दा बालीनालीमा क्षति पुर्याएको छ ।

आज बिहान रोकिए पनि दिउँसोतिर फेरि पानी पर्ने पूर्वानुमान छ । तराई मधेशका जिल्ला र कोशी प्रदेशमा भने आज पानी पर्ने सम्भावना कम छ । तर भोलि फाट्टफुट्ट वर्षाको सम्भावना छ ।

आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । पर्सि भने सामान्यतया मौसम सफा रहने छ ।

यस वर्षको मनसुन भने सरदर मिति (अक्टुबर २)  भन्दा दुई साता ढिलो गरी आइतबार देशभरबाट बाहिरिएको थियो ।

clock सोमबार २९, असोज २०८० १२:३३

प्रतिक्रिया