अछाममा फोहोरबाट मोहर,  घर घरमा बायोग्यास निःशुल्क

  मङ्गलबार ०९, साउन २०८० १०:१८

अछाम । मङ्गलसेन नगरपालिकाले नगर तथा बजार क्षेत्रबाट निस्कने फोहोरबाट बायोग्यास निकालेर स्थानीयवासीलाई निःशुल्क रूपमा वितरण गरेको छ । बायोग्यास प्लान्टबाट निस्केको बायोग्यास पाइपलाइनबाट घर घरमा पुर्याउने कार्य भइरहेको छ । 

यस नगरपालिकाको वडा नम्बर–६, तेसिङ्गेमा ‘डम्पिङ साइट’ मा बायोग्यास प्लान्ट स्थापना गरी करिब ५० हजार लिटर ग्यास उत्पादन तथा भण्डारण गरिएको पालिकाले जनाएको छ ।

बायोग्यासबाट दाउराको सट्टा घरमा आगो बाल्न तथा खाना पकाउन सहज भएको तेसिङ्गेका स्थानीय ताराप्रसाद भण्डारीले बताए । “घरमा ग्यास जडान भयो, अब दाउराको दुःख जान्या भयो,” भण्डारीले खुसी हुँदै भन्नुभयो । 

घरमा बायोग्यासको पाइपलाइन जडानसँगै ग्यास चुलोसमेत पाइसकेको उहाँले बताउनुभयो । कतिपयको घरमा भने ग्यासको पाइप जडान कार्य जारी छ । पालिकाले नमुनायोग्य कार्य गरेको भनाइ स्थानीय नगरवासीको छ ।

स्थानीय रङ्गप्रसाद भण्डारी आफूहरू ‘डम्पिङ साइट’ प्रभावित क्षेत्रको बासिन्दा भएकाले बायोग्यास सेवा लिनेमा पहिलो प्राथमिकतामा परेको बताउनुहुन्छ । अहिले पाँच घरमा ग्यास पाइप जोडेर खाना पकाउन सुरु गरिएको छ ।

वडाध्यक्ष देवेन्द्रप्रसाद भण्डारीले अन्य घरमा बायोग्यास जडानको काम भइरहेको जानकारी दिनुभयो । फोहोरबाट निकालिएको बायोग्यासलाई ७० घरधुरीमा निःशुल्क रूपमा वितरण गर्ने योजना रहेको उनले बताए । गोरखापत्रबाट

clock मङ्गलबार ०९, साउन २०८० १०:१८

प्रतिक्रिया