कैलालीमा मोहना नदीको कटानले खेतीयोग्य जमिन सखाप हुँदै, किसान चिन्तित

  बिहिबार ०५, भदौ २०८२ १५:२३

धनगढी । मोहना नदीले खेतीयोग्य जमिन कटान गर्न थालेपछि किसान चिन्तित भएका छन् । कैलारी गाउँपालिका –३ स्थित खोनपुर र शिवरत्नपुर गाउँका किसान चिन्तित् भएका हुन्  । 

नदीले दुबै गाउँतर्फ कटान गर्दैआएको छ । अहिलेसम्म धेरै किसानको खेतीयोग्य जमिन कटान गरिसकेको जनाइएको छ । किसानका अनुसार यसवर्ष नदीमा अहिलेसम्म ठुलो बाढी आएको छैन । तर, जमिन कटान भने हुँदैआएको छ । 

“नदीले धेरै कटान गरिसक्यो” शिवरत्नपुरका कमल चौधरीले भने, “कटानले गाउँसमेत जोखिममा परिरहेको छ ।” केही वर्ष अगाडि मात्र शिवरत्नपुरमा नदीले कटान गर्दा केही परिवारको उठीबास भएको थियो ।

नदीले फेरि कटान गर्न थालेको चौधरीले बताए । उनले तीन बिघासम्म खेतीयोग्य जमिन कटान भइसकेको बताए । “अब बाटो कटान भइरहेको छ” चौधरीले भने । 

यसैगरी, अर्कोतिर नदीले खोनपुरको खेतीयोग्य जमिन कटान गरिरहेको छ । नदीले किसानका लगभग ३५ बिघा जमिन कटान गरिसकेको जनाइएको छ । कटान गर्दै मोहना नदी नर्सरीसम्म पुगिसकेको वडा अध्यक्ष सन्तराम चौधरीले जानकारी दिए । 

उनले कटान नियन्त्रण गर्न पालिकाको बजेटले सम्भव नरहेको जनाउँदै प्रदेश सरकारले तटबन्ध निर्माणका लागि सहयोग गर्नुपर्ने बताए । “पालिकाको बजेटले सम्भव छैन । थोरै बजेटले कटान नियन्त्रण हुँदैन” वडा अध्यक्ष चौधरीले भने, “भौतिक तटबन्ध निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्न आवश्यक छ ।”

clock बिहिबार ०५, भदौ २०८२ १५:२३

प्रतिक्रिया