कैलाली कारागार घटना : अस्पतालबाट डिस्चार्ज भएका कैदीलाई फर्काउन कारागार प्रशासनको आनाकानी

  सोमबार ०२, भदौ २०८२ ०९:२३

धनगढी । कैलाली कारागारमा भएको हिंसात्मक घटनाका घाइते ४८ कैदीबन्दीमध्ये सेती प्रादेशिक अस्पतालले आइतबारसम्म नौ जनाबाहेक सबैलाई डिस्चार्ज गरिसकेको छ ।

तर, डिस्चार्ज भइसकेका कैदीबन्दीलाई पनि कारागार प्रशासनले कारागार फर्काउन सकेको छैन । कैलाली कारागारमै फर्काउन नसकिने अवस्था भएपछि उनीहरुलाई अन्य कारागारमा पठाउन गृहकार्य भइरहेको कारागार प्रशासनले जनाएको छ ।

उनीहरुमध्ये हालसम्म ६ जनालाई अन्य कारागार स्थानान्तरण गरिसकिएको कारागार प्रशासक जालन्धर भुसालले बताए । अस्पताल भर्ना गरिएका घाइतेमध्ये गम्भीर अवस्थाका तीन जनालाई काठमाडौं रेफर गरिएको छ । १० जनाको उपचार भइरहेको छ ।

मंगलबारदेखि बिहीबारको अवधिमा डिस्चार्ज भएका २९ जनालाई कारागार प्रशासनले पुनः कारागार फर्काउन नसकेको हो । ‘नौजना बाहेक सबैलाई अस्पतालले डिस्चार्ज दिइसकेका छौं,’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले भने, ‘तर उहाँहरुलाई कारागार प्रशासनले अस्पतालमै राखेको छ ।’

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले कारागारमा उनीहरुलाई असुरक्षा हुन सक्ने आकलन गर्दै अन्य कारागारमा स्थानान्तरण गर्न गृहकार्य भइरहेको बताए । ‘६ जनालाई त पठाइसक्यौं । अरुलाई त अस्पतालमै राखेका छौं,’ जोशीले भने ।

कैदीबन्दीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको कोरोना अस्पतालको घरमा राखेर उपचार गरिएको हो । त्यसबाहिर सुरक्षाका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोली खटाइएको छ । अहिले कारागारभित्र बन्दीगृहको अवस्था भने सामान्य रहेको कारागार प्रशासनले जनाएको छ ।

सुरक्षा निकाय र कारागार प्रशासनले अहिलेकै अवस्थामा आक्रमणबाट घाइते भएकाहरुलाई पुनः कैलाली कारागार फर्कायो भने आक्रमण हुनसक्ने जोखिम देखेको छ । ‘उनीहरुलाई पुनः फर्काइयो भने जे पनि हुन सक्छ भन्ने हो,’ कैलाली कारागारका एक कर्मचारीले भने, ‘त्रास कायमै छ । हामीले पनि ढुक्कसँग केही भन्न सक्ने अवस्था छैन ।’

clock सोमबार ०२, भदौ २०८२ ०९:२३

प्रतिक्रिया