गोदावरीको बल्मीका एक बालक बेपत्ता, खुटिया खोलामा बगेको आशंका

  सोमबार ०२, भदौ २०८२ ०७:५०

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाका एक बालक बेपत्ता भएका छन् । आइतबार गोदावरी नगरपालिका – ९ बल्मीका पुष्पराज जोशीका ११ वर्षीय छोरा दीपेन्द्र जोशी बेपत्ता भएका हुन ।

दिउँसो १२ बजे घरबाट खाना खाएर निस्केका दीपेन्द्र घर नफर्किएपछि नदीमा बगेको आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बालक हराएको राती ८ः२० बजे प्रहरी बिट स्याउलेमा खबर आएपछि खोजतलास गर्दा साथीहरू सँगै खुटिया खोलामा नुहाउन गएको बेला बेपत्ता भएको खुल्न आएको बताए ।

उनले राती ११ः१४ बजे बेपत्ता भएका बालकको साथी ११ वर्षीय पारस धामीलाई सोधपुछ गर्दा ३ जना खुटिया खोलामा नुहाउन गएको र नुहाउने क्रममा दीपेन्द्र हराएको बयान दिएको बताए ।

पारसको बयानको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट १० जनाको प्रहरी टोली खटिएको र खुटिया खोलामा खोजतलास गर्ने क्रममा हराएको बालकले लगाएको कालो नाईक लेखेको चप्पल फेला परेको डिएसपी चन्दले बताएका छन् । उनले बालकको खोजतलास जारी रहेको बताए ।

clock सोमबार ०२, भदौ २०८२ ०७:५०

प्रतिक्रिया