बैतडीमा तीन वर्षको अवधीमा ५२ जना वेपत्ता

  शुक्रबार ३०, साउन २०८२ १४:१०

बैतडी । बैतडीमा पछिल्लो तीन वर्षको अवधीमा वेपत्ता हुनेको संख्या ५२ पुगेको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार जिल्लामा पछिल्लो तीन वर्षको अवधीमा वेपत्ता भएका मध्ये ५२ जना अझै भेटिएका छैनन्। 

प्रहरीको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९/८० मा १ सय ५ जना हराएकोमा ९१ जना फेला परेका थिए। ती मध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

यस्तै आर्थिक बर्ष २०८०/८१ मा १ सय १५ जना हराएकोमा १ सय १३ जना फेला परेका थिए। गत आर्थिक बर्ष २०८१/८२ मा १ सय २२ जना हराएकोमा ८६ जना फेला परेका छन्। बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या बढी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए। 

गत आर्थिक बर्षमा ५५ महिला, २७ बालक, २९ बालिका र १ एकजना जेष्ठ नागरिक बेपत्ता भएको प्रहरीमा निवेदन परेको थियो। ती मध्ये ८६ जना फेला परेका उनले बताए। बेपत्ता भएको समयमा प्रहरीमा निवेदन दिएपनि कतिपयले फेला परेको जानकारी नदिने भएकाले पनि बेपत्ताको तथ्यांक बढ्दै गएको प्रहरीले जनाएको छ। 

बैतडी भारतसँग खुला सीमा भएको जिल्ला भएकाले पनि धेरैजसो भारततर्फ जाने र उतै बस्ने गरेका छन्। सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारणले पनि बेपत्ता मानिसको संख्या बढ्दै गएको छ।

clock शुक्रबार ३०, साउन २०८२ १४:१०

प्रतिक्रिया