बाजुराको नाटेश्वरी मन्दिरमा एक क्विन्टलको घण्टी चढाईयो

  बिहिबार २९, साउन २०८२ ०८:४१

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल नाटेश्वरी मन्दिरमा एक क्विन्टल (सय कजी) तौलको महाघण्ट चढाईएको छ । 

जनैपूर्णिमाको अवसरमा पदमबहादुर शाही र उनका भाइहरू भरतबहादुर शाही तथा पारस विक्रम शाहीले संयुक्त रूपमा नाटेश्वरी देवीलाई श्रद्धापूर्वक सो महाघण्ट चढाउनुभएको हो ।

शाही परिवारले काठमाडौँका प्रसिद्ध शिल्पीमार्फत तीन महिना लगाएर विशेष गजुर सहितको कलात्मकता झल्किने यो महाघण्ट निर्माण गराएका थिए । 

यसलाई स्थानीय बाजागाजा, पञ्चकन्या, मंग्ल्यारी र धामी–पुजारीको सहभागिता तथा लावालस्करसहित नाटेश्वरीको भण्डारघर खिरपाटाबाट स्थानीय युवाको सहयोगमा मन्दिरसम्म पुर्‍याईएको थियो । 

मन्दिरका पुजारी पर्वतबहादुर शाहीकाअनुसार, शाही परिवारले चढाएको यो घण्ट हालसम्मकै सबैभन्दा ठूलो हो। “मन्दिरमा रहेको घण्टी देवीको मुख्य गहना हो। यसको विशिष्ट आकार, कलात्मक निर्माण र आध्यात्मिक महत्त्वका कारण यो दर्शनार्थी तथा भक्तजनको आकर्षणको केन्द्र बन्नेछ,” उनले भने । 

हालै जीर्णोद्धार सम्पन्न गरिएको नाटेश्वरी मन्दिरमा यसअघि पनि ऐतिहासिक महत्त्वका घण्ट अर्पण गर्ने परम्परा रहँदै आएको छ। राणाकालीन प्रधानमन्त्री वीर शमशेर र स्व. रानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाहका हजुरबुवा जर्नेल अग्नी शमशेर जबराले पनि यस मन्दिरमा घण्ट चढाएका थिए । ती घण्टहरू अहिले पनि मन्दिरमा सुरक्षित छन्।

परापूर्वकालमा स्थानीय राजा दिपराज छत्यालले बडीमालिका मन्दिरको निर्माणपछि देविकै आज्ञाअनुसार नाटेश्वरी मन्दिर स्थापना गरेका थिए । धार्मिक परम्पराअनुसार बडीमालिका देवीलाई बहिनी र नाटेश्वरी देवीलाई दिदिका रूपमा पूज्ने चलन आजसम्म रहँदै आएको छ ।

clock बिहिबार २९, साउन २०८२ ०८:४१

प्रतिक्रिया