कैलालीका ३० किसानलाई तरकारी बिक्रीका लागि निःशुल्क साइकल वितरण

  बिहिबार २९, साउन २०८२ ०८:२७

धनगढी । कैलालीका ३० किसानलाई तरकारी बिक्रीका लागि साइकल वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र कैलालीले ३० जना महिला किसानहरूलाई साइकल, एक तराजु, २ वटा क्यारेट र कार्डहरू वितरण गरिएको हो। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर विष्टले पाँच लाख २८ हजार मूल्य बराबरका सामाग्री वितरण गरिएको बताए। 

उनले गत आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार किसानहरूलाई सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापामार्फत सामाग्री वितरण गरिएको बताए। उनले भने, “घर–घरमा तरकारी पुगाउने दिदी बहिनीहरूलाई पेसागत मर्यादा र प्रोत्साहनका लागि निःशुल्क वितरण गरेका हौ।”

कृषि ज्ञान केन्द्र, कैलालीले २४ जना एकल महिलालाई निःशुल्क साइकल, एक तराजु, दुई क्यारेट र कार्ड वितरण गरेको हो। एक बिरामी महिला र अन्य गरिब परिचय पत्र भएका महिलाहरू रहेका ज्ञान केन्द्रले बताएको छ। उनीहरूलाई वितरण गरिएको कार्डमा “हामी हाम्रो बारीको तरकारी मात्र बिक्री गर्छौ”, “हामी विषादी प्रयोग गरेको तरकारी बिक्री गर्दैनौ”, ज्ञान केन्द्रले हामीलाई निःशुल्क साइकल, तराजु दिएको छ” लगायतका पाँच वटा सन्देशहरू लेखिएका छन। 

उनीहरूको कार्डमा लेखिएको सन्देशले विषादीको प्रयोग काम गर्न सहयोगी हुने अपेक्षा ज्ञान केन्द्रको छ। आर्थिक अवस्था कमजोर भएका महिला किसानहरूलाई सरकार भएको अनुभूति दिलाएको मन्त्री थापाको दाबी छ। 

उनले भने, “धनगढीमा सबै भन्दा बढी तरकारी बिक्री हुने गरेको छ। तर, धनगढीका खेतहरू सबै भन्दा बढी बाँझो छन्। धनगढी उपमहानगरपालिकामा मात्र ५० लाख बजेट विनियोजन गरेका छौ। कृषि औजारका लागि पनि बजेट राखेका छौ। तपाइहरूले सहयोग माग गर्नुपर्छ। हामी आधा लागनी गर्छौ। तपाइहरू जोडिनुपर्छ। व्यवसायी रूपमा अगाडी बढ्नु होस।”

ज्ञान केन्द्रले आठ हजार आठ सय ४० रुपैयाँका दरले साइकल र पाँच हजार पाँच सयका दरले तराजुहरू खरिद गरेको बताएको छ।

clock बिहिबार २९, साउन २०८२ ०८:२७

प्रतिक्रिया