बैतडीको शिवनाथ वासीको बिजुली बाल्ने सपना पूरा

  बुधबार २८, साउन २०८२ १०:१७

बैतडी । भारतपारि बलेको बिजुली हेरेर अँध्यारोमा बस्दै आएका शिवनाथवासीका बिजुली बाल्ने सपना पूरा भएको छ । दुर्गम गाउँमा बिजुली बाल्न विद्युत् वितरण केन्द्र बैतडीका कार्यालय प्रमुखसहितको प्राविधिक टोलीले मध्यराति २ बजेसम्म कार्यक्षेत्रमा खटिएर बिजुली बालेको हो  ।

शिवनाथ गाउँपालिका–२ र ३ नम्बर वडाका करिब तीन सय घरधुरीमा बिजुली बाल्न विद्युत् वितरण केन्द्रका कार्यालय प्रमुख जनार्दन पौडेल मध्यरातिसम्म आफैँ खटिएको गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । उनले भने, “शिवनाथवासीका बिजुलीका सुइना (सपना) पूरा भयो । कार्यालय प्रमुख आफैँ काममा खटिएपछि म पनि घर नगई कार्यक्षेत्रमै थिए ।”

बिजुली बाल्ने सपना पूरा हुने खुसीमा स्थानीयवासी पनि जाग्राम बसेका थिए । लामो समयको व्यग्र प्रतीक्षापछि बल्ल दुर्गम गाउँमा बिजुली बलेको छ । विद्युत् वितरण केन्द्रको आफ्नै लगानीमा सोमबार शिवनाथ गाउँपालिका–२ र ३ नम्बर वडामा बिजुली बलेको कार्यालय प्रमुख जनार्दन पौडेलले बताए ।

बैतडीका ४५ हजार घरधुरीमध्ये हालसम्म २७ हजार घरधुरीमा बिजुली बलेको छ ।    

clock बुधबार २८, साउन २०८२ १०:१७

प्रतिक्रिया