बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शिविर सञ्चालन
बैतडी । जिल्लाको दुर्गम र पहुँचविहीन क्षेत्रका नागरिकलाई सहज र छरितो सेवा प्रवाह गर्न जिल्लाका स्थानीय तहहरू मार्फत राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम तीव्र रुपमा अगाडि बढाइएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय पुर्चौडीबाट सञ्चालन हुँदै आएको परिचयपत्र विवरण सङ्कलनको कार्यलाई स्थानीय तहको पहलमा विस्तार गर्दै डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा दर्ता शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा भत्ता, बैंक खाता खोल्ने प्रक्रियालगायत विभिन्न सरकारी तथा गैरसरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाले नागरिकले सदरमुकामसम्म आउनुपर्ने अवस्था र सहजताको अभावले समस्या भोग्दै आएका छन् । यसलाई मध्यनजर गर्दै गाउँ–नगरपालिकाबाटै परिचयपत्र विवरण सङ्कलन गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
डिलाशैनी गाउँपालिका वडा नं ६ को कार्यालय डडियामा र मेलौली नगरपालिकाको कार्यालयमा सञ्चालित दर्ता शिविर साउन मसान्तसम्म र भदौ १ गतेसम्म क्रमशः सञ्चालन गरिने छ । गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा सञ्चालन भएको यस शिविर सामाजिक सुरक्षा भत्ताका लाभग्राही तथा स्थानीय नागरिकका लागि अत्यन्त उपयोगी सावित हुने डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिनुभयो ।
यस्तै मेलौली नगरपालिकामा भने आगामी भदौ २ र ३ गते सलेना क्षेत्रमा पनि शिविर सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दले जानकारी दिनुभयो । यसअघि दोगडाकेदार गाउँपालिका र पाटन नगरपालिकामा सञ्चालन गरिएको शिविरबाट करिब एक हजार पाँच सय नागरिकको विवरण सङ्कलन भइसकेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।
जिल्लाका सिगास, पञ्चेश्वर, सूर्नयालगायतका अन्य दुर्गम गाउँपालिकामा पनि निकट भविष्यमै यस्ता दर्ता शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ । पुर्चौंडी नगरपालिकामा इलाका प्रशासन कार्यालयमार्फत तथा दशरथचन्द नगरपालिकामा जिल्ला प्रशासन कार्यालय मार्फत परिचयपत्र वितरणको काम निरन्तर रुपमा भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयले नागरिकको सुविधालाई प्राथमिकतामा राख्दै राष्ट्रिय परिचयपत्र वितरण र विवरण सङ्कलनमा अझै छरितो र प्रभावकारी सेवा प्रवाहमा जोड दिएको छ । यस कार्यबाट जिल्लाका सबै नागरिकले सरकारी सेवा तथा विभिन्न अवसरहरूमा परिचयपत्रको सहज पहुँच पाउने विश्वास व्यक्त गरिएको छ ।
प्रतिक्रिया