वन लसुनसहित दार्चुलाबाट एक महिला पक्राउ
दार्चुला । हिमाली जडीबुटी वन लसुनसहित दार्चुलाको प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार भारतबाट अवैधरुपमा नेपाल ल्याउने क्रममा सदरमुकाम खलङ्गास्थित नेपाल–भारत जोड्ने पुलमा सुरक्षार्थ खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नौगाड गाउँपालिका–४ सिप्टी बस्ने ३१ वर्षीय धाना धामीलाई पक्राउ गिरएको हो ।
सोमबार बेलुकी प्रहरीले उहाँको साथबाट पाँच किलोग्राम वन लसुन बरामद गरेको सूचना अधिकारी रावतले बताउनुभयो । सङ्कलन पुर्जी (अनुमति पत्र) बिना भारतबाट नेपाल भित्र्याइरहेको वन लसुनसहित ती महिलालाई पक्राउ गरी हिरासतमा राखिएको उहाँले जानकारी दिनुभयो ।
सदरमुकाम क्षेत्र वन कार्यायलको क्षेत्रमा पर्ने भएका कारण ती महिलालाई आवश्यक पक्रिया पूरा गरी मङ्गलबार डिभिजन वन कार्यालय दार्चुलाको जिम्मा लगाइने उहाँले बताउनुभयो । यता डिभिजन वन कार्यालय दार्चुलाका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले राजस्व दाखिला गरी सङ्कलन अनुमति लिएर मात्रै वन लसुनको सङ्कलन तथा ओसारपसार गर्न पाइने बताउनुभएको छ ।
प्रतिक्रिया