कैलालीमा कारागार भित्रै ज्यान लिनेको अझै भएन पहिचान

  मङ्गलबार २७, साउन २०८२ ११:०१

धनगढी । कैलालीमा कारागार भित्र एक जनाको ज्यानै जाने गरी भएको घटनामा संलग्नको अझै पहिचान सार्वजनिक गरिएको छैन । शुक्रवार राती ब्लक ‘ए’ मा रहेका कैदिबन्दीले ब्लक ‘बी’ मा रहेका कैदिबन्दी माथि आक्रमण गर्दा एक जनाको मृत्यु र ४७ जना घाइते भएकाको बताइए पनि कति जनाको समूह सो घटनामा संलग्न रहेको विषयमा भने अझै प्रहरी मौन रहेको छ । घटना भएको २ दिन पछि मात्रै कारागारको कैदीबन्दी गृह नियन्त्रणमा लिएको प्रहरीले घटनामा संलग्नको बारेमा अनुसन्धान गरिरहेको बताए पनि अहिले सम्म कति जना संलग्न थिए भन्ने बारेमा जानकारी दिएको छैन ।

प्रहरी कै नियन्त्रित क्षेत्रभित्र भएको घटनामा ४ दिन सम्म दोषी सार्वजनिक नहुँदा विभिन्न आशङ्का समेत उब्जिन थालेका छन् । मृतकका आफन्तले दोषी किटान गर्नुपर्ने माग गर्दै शव बुझ्न अस्वीकार गरेका भए पनि सोमबार प्रमुख जिल्ला अधिकारीको आश्वासन पछि उनीहरूले शव बुझेका छन् । मृतकका आफन्तले दोषी किटानी गरी कारबाहीको माग गर्दै सोमबार नै प्रहरीमा जाहेरी दिएका छन् । झडपमा मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको परिवारले हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारबाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० राजकुमार सिंहले भने घटनामा संलग्नको पहिचान गर्ने काम भइरहेको बताए । उनले घटना अनुसन्धानकै क्रममा रहेको बताए । ‘जाहेरीका आधारमा हामीले दोषी पहिचान गरेर कारबाहीको दायरामा ल्याउँछौ’ उनले भने ‘घटनामा कति जना संलग्न हुन, को को संलग्न हुन भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।’

यस घटनाका विषयमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । घटनाको दोस्रो दिन शनिवार सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त समितिलाई भने १० दिनको समय दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी ९सिडिओ० गोगनबहादुर हमालले कुटपिट गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कानुनबमोजिम कारबाही बताएका छन् । सोमबार मृतकका आफन्तलाई भेटेर उनले दोषी पहिचान गरेर कारबाहीको दायरामा ल्याउने बताएका हुन । मृतकका भाइ विजय चौधरीले दाजुको हत्या कसले गरेको भन्ने बारेमा अहिले सम्म जानकारी पाउन नसकेको बताए । उनले प्रहरी घेरामै भएको घटनामा मारिएका दाइको ४ दिन बितिसक्दा पनि हत्यारा थाहा नपाएको बताए । उनले राती १७–१८ जनाले आक्रमण गरेको सुने पनि आफूहरूले उनीहरूलाई नचिन्ने भएकाले प्रहरीमा किटानी जाहेरी पनि दिन नसकेको बताए ।

यसअघि पनि आफ्नो वर्चस्व जमाउन कैलाली कारागारमा झडप हुँदै आएको थियो । तर, निरन्तर घटना भइरहे पनि प्रहरीले अहिले सम्म दोषीलाई पहिचान गरेर कारबाही गरेको विषयमा सार्वजनिक गरेको छैन । यस पटक भने एक जनाको मृत्यु र ४७ जना घाइते हुने गरी भएको घटना पछि छानबिन समिति नै बनेकाले दोषी किटान गरी सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।

clock मङ्गलबार २७, साउन २०८२ ११:०१

प्रतिक्रिया