कैलाली कारागार घटना : चार दिनपछि भरतको शव बुझे आफन्तले
धनगढी । कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका भरत चौधरीको शव आफन्तले बुझेका छन्। धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय चौधरीको शव चार दिनपछि आफन्तले बुझेका हुन्।
जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारीसहितको छलफलमा उनीहरूले माग सम्बोधन भएपछि मात्रै शव बुझ्ने बताएका थिए। मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू उनीहरूले प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई सुनाएका थिए।
प्रमुख जिल्ला अधिकारी हमाल माग सम्बोधन गर्न तयार भएपछि आफूहरूले शव बुझेको मृतकका भाइ विजय चौधरीले बताए। छलफल पछि जिल्ला प्रहरी कार्यालयका मृतकका परिवारले जाहेरी पनि दिएका छन्। उक्त जाहेरी दर्ता भएर अनुसन्धान अघि बढिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले बताए। जाहेरी दर्ता पछि मृतकका आफन्तहरू शव बुझ्न तयार भएका उनले बताए।
लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको कारागारभित्रै कैदीबन्दी समूहबिच झडपमा हत्या मृत्यु भएको थियो। कारागारको पुरुष ‘ए’ ब्लकमा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ‘बी’ ब्लकमा रहेका चौधरीसहितका ४९ जना कैदीबन्दीमाथि साङ्घातिक आक्रमण गरेका थिए।
राति सेती प्रादेशिक अस्पताल पु¥याइएका चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। यसअघि सुदूरपश्चिम प्रदेश सरकारले मृतकको परिवारलाई ५ लाख उपलब्ध गराउने निर्णय गरिसकेको छ। मृतककी १५ वर्षीया छोरी अहिले ८ कक्षामा पढिरहेकी छन्।
हमालले धनगढी उपमहानगरपालिकाले मृतककी छोरीलाई पढाउने बचन दिइसकेको र सहयोगका लागि आफूले अन्य संघसंस्थामार्फत पहल गर्ने मौखिक प्रतिबद्धता जनाएका छन्। ‘धनगढी उपमहानगरपालिकाले मृतकको छोरीलाई निःशुल्क पढाउने व्यवस्था मिलाउने भनेको छ। प्रमुख जिल्ला अधिकारीको हैसियतमा मैले पनि पहल गर्छु। विभिन्न संघसंस्थाले सहयोग गर्छन्,’ हमालले छलफलका क्रममा मृतक चौधरीका परिवारसँग भने, ‘उहाँलाई कुटपिट गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कानुनबमोजिम कारबाही गछौँ।’
कारागारभित्र भएको हिंसात्मक घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याइने उनले बताए। घटनाको सूक्ष्म अनुसन्धान गरी कुटपिटमा संलग्नहरूलाई थप कारबाही गर्ने बताएपछि उनीहरू शव बुझ्न सहमत भएका हुन्। घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा समेत पाँच सदस्यीय समिति गठन गरिएको छ।
उक्त समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त सदस्य छन्। त्यस्तै अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी पनि सदस्य छन। समितिलाई १० दिनको समय दिइएको छ। शुक्रवारको घटनापछि कैदीबन्दीले ४० घण्टासम्म कसैलाई भित्र छिर्न दिएका थिएनन्। मानवअधिकार आयोगको रोहबरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ४० घण्टापछि घटनास्थल भित्र छिरेर कैदीबन्दीको गणना गरेको थियो।
हाल जिल्ला कारागार कैलालीको अवस्था सामान्य बन्दै गएको स्थानीय प्रशासनले बताएको छ।
प्रतिक्रिया