कैलाली जेल अझै कैदीबन्दीको कब्जामा, सुरक्षा निकायका अधिकारीहरू घटनास्थलसम्म अझै पुग्न सकेनन्

  आइतबार २५, साउन २०८२ १२:२५

कैलाली । कैलाली कारागारभित्र भएको झडपपछि दुई दिन बितिसक्दा पनि सुरक्षा निकायका अधिकारीहरू घटनास्थलसम्म पुग्न सकेका छैनन्। कैदीबन्दीहरूले आफूहरूको माग कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयका प्रतिनिधिसमक्ष मात्र राख्ने अडान लिएका छन्।

शनिवार बिहान प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित चारै सुरक्षा निकायका प्रमुखहरू घटनास्थल निरीक्षणका लागि कारागार पुगेका थिए, तर कैदीबन्दीहरूले भित्र पस्न दिएनन्। दिउँसो मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको टोलीलाई पनि प्रवेश रोकियो। साँझ पुनः आयोगका प्रतिनिधि पुगे पनि कैदीबन्दीहरूले गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागको टोली पठाउन आग्रह गरे।

मानवअधिकारको टोलीलाई कैदीहरुले भित्र सबै ठिक रहेको मिलेर बसेको बताएका थिए । उनीहरूले तत्काल माथिल्लो तहबाट प्रतिनिधि आउनुपर्ने र उनीहरूलाई कुरा राख्ने बताएका थिए ।

आयोगको टोलीलाई भने कैदीबन्दीले “भित्र आउन सक्नुहुन्छ” भनेका थिए। तर, घटनास्थलको मुचुल्का प्रहरीले तयार पार्नु पर्ने भएकाले आयोगले प्रहरीलाई समेत प्रवेश दिन आग्रह गर्‍यो। कैदीबन्दीहरूले भने उच्च तहका अधिकारी आएपछि मात्र प्रहरीलाई भित्र पस्न दिने अडान दोहोर्‍याए।

शुक्रवार राति कारागारमा भएको झडपमा एक जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

१५० जनाको क्षमता रहेको कैलाली कारागारमा हाल करिब ७०० कैदीबन्दी छन्। कैदीबन्दीहरूले कारागारको आन्तरिक प्रशासन, व्यवस्थापन सुधार, अवैध आर्थिक चलखेल रोकथाम लगायतका मागसहित साउन १२ गते मानव अधिकार आयोगलाई पत्र बुझाएका थिए।

५९० कैदीबन्दीको हस्ताक्षरसहितको उक्त पत्रपछि आयोगले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र कैलाली कारागारलाई सचेत गराउँदै पत्र पठाएको थियो। त्यसको एक सातापछि लगातार दुई पटक झडप भयो।

विवादको जड नवीन रावल समूहका सदस्यहरूको सरुवामा देखिएको बताइन्छ। पहिलो चरणमा १३ जनालाई दाङ, बर्दिया र दैलेख पठाइएको थियो। त्यसपछि त्यही समूहका थप सदस्यहरूलाई सरुवा गर्ने तयारी भएपछि नाराबाजी भएको हो। तीन जनालाई पेसी लैजाने भन्दै झुक्क्याएर मकवानपुर पुराएको पनि उनीहरूको आरोप छ।

कैदीबन्दीहरूले सरुवाका कारण पेशी छुट्ने, परिवारलाई जानकारी नदिने, त्रास सिर्जना गर्ने जस्ता समस्या भएको बताएका छन्। प्रजिअ गोहन हमालले एक पक्षीय रुपमा सरुवा गरिरहेको उनीहरू बताउँछन् । हमाल भने नियमित प्रक्रिया अनुसार, स्वास्थ्य, पारिवारिक तथा विवाद न्यूनीकरणका कारण सरुवा भएको दाबी गर्छन्।

२८ असारमा भएको झगडामा खगेन्द्र बोगटी घाइते भएका थिए। रावल समूहले बोगटीलाई जयन्द्र शाह समूहका कपिल श्रेष्ठले कुटपिट गरेको आरोप लगाएको छ। साथै कारागार प्रमुख वसन्त खत्रीले श्रेष्ठलाई बाहिर लगेर कसैसँग संवाद गराएको आरोप पनि छ। जेलरविरुद्ध नाराबाजी भयो तर, छानबिन भएन । सो घटनापछि खत्री बिदामा बसे ।

पछिल्ला दिनमा अधिकारीहरूको बिदा र जिम्मेवारी परिवर्तन भइरहेका छन्। नायब सुब्बा ज्ञानेन्द्र ओझा बिदामा बसेपछि खरिदार रामकुमार चौधरीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो। हाल कारागार व्यवस्थापन विभागले बाँकेका जेलर जालन्धर भुसाललाई शनिबारदेखि कैलाली कारागार प्रमुखका रूपमा खटाएको छ। तर, प्रहरीले अझै घटनास्थल निरीक्षण गर्न पाएको छैन।

clock आइतबार २५, साउन २०८२ १२:२५

प्रतिक्रिया