बालविकास कक्षामा विद्यार्थी भर्ना दर बढाउन नगर प्रमुख हमालको आग्रह
धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बालविकास कक्षामा विद्यार्थी भर्ना दर बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
धनगढी–१६ घसिटास्थित बेहडाबाबा माध्यमिक विद्यालयमा बालविकास कक्षाका लागि शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थी संख्या समेत वृद्धि हुनुपर्नेमा जोड दिए।
धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत शुक्रबार बेहडाबाबा माध्यमिक विद्यालयमा बालविकास कक्षाका लागि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको हो। विद्यालय परिसरमा आयोजित समारोहमा अभिभावक, विद्यालयका शिक्षक, स्थानीयवासी तथा नगर प्रमुख हमालको उपस्थितिमा सामग्री हस्तान्तरण सम्पन्न गरिएको थियो।
उपमहानगरपालिकाले बालविकास कक्षाका विद्यार्थीहरूको लागि क, ख म्याट, पिफम, बालबालिका बस्ने कुर्सी, टेबल, कार्पेट, एबीसी म्याट, अंक म्याट, जुत्ता–चप्पल राख्ने र्याक, सेतो पाटी, हर्स रकर, हेन रकर, डक रकर लगायतका खेल सामग्री उपलब्ध गराएको हो।
सामग्रीहरू वडा अध्यक्ष रामलाल चौधरी र शिक्षा महाशाखा प्रमुख घुम्मनसिंह बडायकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राना थारू र प्रधानाध्यापक भोजराज शर्मालाई हस्तान्तरण गरेका हुन्।
शैक्षिक गुणस्तरमा अभिभावक र शिक्षकको भूमिका
कार्यक्रममा नगर प्रमुख हमालले अभिभावक र शिक्षकहरूलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि थप मेहनत गर्न आग्रह गरे।
बेहडाबाबा माध्यमिक विद्यालयलाई नमुना विद्यालय घोषणा गरेर आवश्यक लगानी गरिएको र विद्यालयको शैक्षिक उपलब्धि सन्तोषजनक रहे पनि बालविकास कक्षामा न्यून भर्ना हुनु चिन्ताजनक भएको उनले बताए।
उनले भने, “भौतिक संरचना निर्माण गर्न, शिक्षक व्यवस्थापन गर्न र शैक्षिक सामग्री उपलब्ध गराउन नगरपालिका तयार छ। तर अभिभावक, व्यवस्थापन समिति र शिक्षकहरूले विद्यार्थी भर्ना दर बढाउन गम्भीर पहल गर्नुपर्छ।”
हमालका अनुसार बालविकास तहमा विद्यार्थी संख्या बढाउन नसके, कक्षा १० सम्म पुग्दा विद्यालयको अवस्थालाई लिएर चुनौतीहरू पैदा हुनेछन्। उनले थपे, “नगरपालिका लगानी गर्न तयार छ, तर शैक्षिक गुणस्तर कायम गर्न र विद्यार्थी संख्या बढाउन समुदाय आफैं अग्रसर हुनुपर्छ।”
भर्ना दर नबढे सुविधा कटौती हुने चेतावनी
हमालले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार र शिक्षकमा आवश्यक लगानी गर्न उपमहानगर तयार रहेको पुनः स्पष्ट पारे। तर, उनले आगामी शैक्षिक सत्रमा बालविकास कक्षामा विद्यार्थी भर्ना दर बढाउन र कक्षा ८ तथा एसइईको नतिजामा सुधार ल्याउन नसके नमुना विद्यालयका सुविधाहरू कटौती गरिने चेतावनी दिए।
प्रतिक्रिया