कञ्चनपुरमा सम्झना भट्ट मृत्यु प्रकरणमा श्रीमान सहित सासू–ससुरा पक्राउ

  बुधबार २१, साउन २०८२ ०७:०९

कञ्चनपुर । कञ्चनपुरमा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएका १७ वर्षीय सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ । 

जिल्लाको बेलडाँडी गाउँपालिका –२ स्थित सिंह पालटोलमा आइतबार बिहान भट्ट घरभित्र झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो । प्रहरीले कोठाको ढोका तोडेर शव बाहिर निकालेको थियो । 

सम्झनाको मृत्यु शङ्कास्पद देखिएको भन्दै प्रहरीले उहाँका ससुरा हरिदत्त भट्ट र सासु किरण भट्टलाई पनि नियन्त्रणमा लिइएको जनाएको छ । यसअघि प्रहरीले मृतकका श्रीमान २४ वर्षीय पवन भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।  

पारिवारिक कलह र यातनाले सम्झनालाई आत्महत्या गर्न बाध्य बनाएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले सम्झनाको माइती पक्षको जाहेरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको बताए । 

पक्राउ परेकाहरूमाथि आत्महत्या दुरुत्साहनमा जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रनाउ बोहराले बताए । विगत लामो समयदेखि सम्झना र पवनबिच प्रेम सम्बन्धका कारण गत फागुन महिनामा विवाह भएको मृतकका बुवा भोजराज भट्टले बताए । 

विवाहपछि सम्झनाका श्रीमान र परिवारका सदस्यहरूले छोरीमाथि दाइजोको निहुँमा यातना दिने, घरेलु हिंसा गर्ने र मानसिक तनाव दिने गरेको उनले बताए । यसअघि गत शनिवार मात्र घरेलु हिंसाको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीले सम्झना र उहाँका श्रीमान पवनलाई सम्झाई  बुझाई  घर फर्काएको थियो ।

आइतबार बिहान कोठामा सम्झना झुन्डिएको अवस्थामा मृत फेला परेपछि छोरीलाई मर्न बाध्य बनाएको मृतकका बुवा भट्टले आशङ्का व्यक्त गरेका छन् । सम्झना कक्षा १२ मा अध्ययनरत गर्थिन् । उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

clock बुधबार २१, साउन २०८२ ०७:०९

प्रतिक्रिया