कञ्चनपुरको भीमदत्त - ११ मा शिशु जन्मिए भत्ता, वडावासीको मृत्यु भए दाहसंस्कार खर्च

  मङ्गलबार २०, साउन २०८२ ०६:४४

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका- ११ नम्बर वडा कार्यालयले शिशु जन्मिए भत्ता र वडावासीको मृत्यु भए दाहसंस्कार खर्च दिने भएको छ । चालू आर्थिक वर्ष ०८१/८२ देखि वडा कार्यालयले शिशु स्याहार र दाहसंस्कारका लागि अन्त्येष्टि खर्च दिने निर्णय गरेअनुरूप रकम उपलब्ध गराउने भएको हो ।

भीमदत्त नगरपालिका- ११ का वडाध्यक्ष प्रकाश थापाले शिशु स्याहारका लागि शिशु जन्मिनेबित्तिकै प्रतिशिशु दुई हजार रुपैयाँ र वडावासीको मृत्यु भएमा अन्त्येष्टिका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने बताए ।

वडाध्यक्ष थापाले वडाका नागरिक विपन्न भएकाले शिशु जन्मिए पोषण खानेकुरा नहुँदा कुपोषित हुने र वृद्धि विकासका समस्या हुने भएकाले शिशु जन्मिए शिशुको स्याहारका लागि रकम उपलब्ध गराएको र मानिसको मृत्यु भएमा अन्त्येष्टिका लागि दाउरा उपलब्ध नहुँदा दाउरा खरिददेखि आवश्यक काजकिरियाका लागि वडाबाट सक्दो आर्थिक सहयोग गर्न लागेको बताए ।

‘वडाको यो निर्णय साउन १ गतेदेखि नै लागू भएको छ,’ उनले भने, ‘वडामा शिशु जन्मिए वा मानिसको मृत्यु भएमा प्रक्रियाअनुरूप कागजात पुर्‍याएर निवेदन दिएमा उक्त सहयोग रकम उपलब्ध गराउँछौँ ।’

वडाध्यक्ष प्रकाश थापाको यस्तो योजनाले वडाका विपन्न नागरिक हर्षित भएका छन् । जन्मदेखि मृत्युसम्मको सुखदुस्खमा स्थानीय सरकारले साथ दिन लागेको भन्दै मानिस हर्षित भएका हुन् । 

clock मङ्गलबार २०, साउन २०८२ ०६:४४

प्रतिक्रिया