दार्चुलाको टिङ्करमा स्थापना हुन सकेन अध्यागमन कार्यालय

  सोमबार १९, साउन २०८२ ०९:३१
अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिङ्कर दार्चुलाको बोर्ड ।

दार्चुला । दार्चुला व्यास गाउँपालिका–१ मा पर्ने टिङ्करमा नेपाल सरकारको अध्यागमन कार्यालय स्थापना हुन सकेको छैन । नेपाल सरकार मन्त्रीपरिषद्को २०८१ कात्तिक ८ गतेको बैठकले यहाँको भारत र चीनसँग जोडिएको सीमानाका टिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । 

मन्त्रीपरिषद्को बैठकले सीमा प्रशासन कार्यालय व्यास छाङरु दार्चुला, सीमा प्रशासन कार्यालय पशुपतिनगर इलाम र अध्यागमन कार्यालय पशुपतिनगर खारेज गर्ने निर्णय गरेको थियो । साथै बैठकले अध्यागमन कार्यालय कोरला मुस्ताङ, अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिङ्कर दार्चुला र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगर इलामको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको थियो ।

आधिकारिक निर्णय भएको नौ महिना बितिसक्दासमेत टिङ्करमा कार्यालय स्थापना नहुनु दुःखद भएको दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेशसिंह थापाले बताउनुभयो । “चीनसँगको नाकामा अध्यागमन कार्यालय स्थापना गरिनु हामी जिल्लावासी र व्यापारीका लागि खुसीको कुरा हो, सरकारले यथाशघ्रि निर्णय कार्यान्वयन गर्नु पर्छ,” उहाँले भन्नुभयो ।

“कार्यालय स्थापना गर्न दबाब दिन निकट भविष्यमै सरोकारवाला संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा जान्छौँ,” उहाँले थप्नुभयो । मन्त्रीपरिषद्ले निर्णय गरेपश्चात् यहाँको जिल्ला प्रशासन कार्यालयनजिकै रहेको भवनको एउटा सानो कोठामा अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिङ्करको बोर्ड बनाएर कार्यालय राखिएको छ । अध्यागमन कार्यालयमा अहिले नायब सुब्बा गोपालसिंह बोहरालाई निमित्तको जिम्मेवारी प्रदान गरिएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भौतिक पूर्वाधार र जनशक्ति अभावका कारण कार्यालय स्थापना गर्न नसकिएको बताउनुभएको छ । जनशक्ति अभाव र भौतिक पूर्वाधार अभावबारा नेपाल सरकार गृह मन्त्रालयलाई लेखेर पठाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।  सरकारले अध्यामगन कार्यालयलाई बहुआयामिक बनाएर स्थापना गर्न सके यहाँको सबै समस्या हल हुने उहाँले बताउनुभयो । सीमा प्रशासन, भन्सार र अध्यागमन कार्यालयलाई एकै ठाउँबाट सञ्चालन गर्ने गरेर स्थापना गर्न सके मात्रै बहुआयामिक हुने उहाँको भनाइ छ । दार्चुलाको टिङ्कर नाका कैलाश मानसरोवर जानका लागि सबैभन्दा छोटो नाका हो । 

clock सोमबार १९, साउन २०८२ ०९:३१

प्रतिक्रिया