मोहना र घुरहा नदीमा झोलुङ्गे पुल बनेपछि डुङ्गा विस्थापित
धनगढी । बर्सौंदेखि डुङ्गा तरेर ओहोरदोहोर गर्दै आएका कैलालीको कैलारी गाउँपालिका–३ स्थित मोहनपुरवासीको अब त्यो बाध्यता हटेको छ ।
मोहना र घुरहा नदीको सङ्गमनजिक झोलुङ्गे पुल बनेपछि मोहनपुरवासीले जोखिम मोलेर डुङ्गामार्फत ओहोरदोहोर गर्नुपर्ने बाध्यता हटेको हो । मोहना नदीपारि रहेको सो गाउँका स्थानीयले नदी वारपार गर्न डुङ्गा प्रयोग गर्दै आएका थिए ।
नदी वारपार गर्न ठुलो कष्ट भोग्दै आएका ती गाउँवासीको पुलमा हिँड्ने सपना पूरा भएको गाउँका भलमनसा शीतलदास चौधरीले बताए ।
पुल नबनेसम्म सबैभन्दा बढी दुःख विद्यार्थी, बिरामी, गर्भवतीले भोग्दै आएका थिए । बर्खामा बाढी आएपछि डुङ्गा चलाउन नसकेका कारण गाउँका एक गर्भवतीको सुत्केरी हुन नसकेर ज्यान गएको भलमनसा चौधरीको भनाइ छ ।
“नदीमा बाढी आएपछि डुङ्गा चलेन,” उनले थपे, “२०७४ सालमा सुत्केरी बेथाले छटपटाएकी पार्वतीदेवी चौधरीलाई पारि स्वास्थ्य संस्थासम्म पु¥याउन नसक्दा सुत्केरी हुन नसकेर उनको ज्यान गयो ।”
९५ घरधुरी रहेको सो गाउँबाट आधारभूत तह र माध्यमिक तह अध्ययनका लागि विद्यार्थीहरू ‘के’ गाउँ र हसुलियामा रहेका विद्यालयमा आउने गरेका छन् ।
प्रतिक्रिया