धनगढी उप–महानगरपालिकामा विपद् स्वयंसेवक तालिम सुरु

  सोमबार १९, साउन २०८२ ०८:०५

धनगढी । कैलालीको धनगढी उप–महानगरपालिकामा आजदेखि विपद् स्वयंसेवकको क्षमता अभिवृद्धि गर्नका लागि तालिम सुरु भएको छ। एक साता सञ्चालन हुने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिममा नगर प्रहरी, वारुण यन्त्रका अग्नि नियन्त्रक तथा समुदायका अगुवा कार्यकर्तासहितका स्वयंसेवकहरू गरी २४ जनाको सहभागिता रहेको छ।

तालिमको उद्घाटन सत्रमा सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं विपद् सम्पर्क व्यक्ति शिवराज जोशीले बारम्बार आइलाग्ने विपद्हरूको सामना गर्नका लागि स्थानीय क्षमता विकासमा जोड दिएका छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सबै जना मिलेर काम गर्नुपर्ने उनले बताए। तालिमबाट धनगढी उप–महानगरपालिकामा थप क्षमता विकास हुने विश्वास उनको छ।

उद्घाटन सत्रको अध्यक्षता समेत रहेका धनगढी उप–महानगरपालिका– ३ का अध्यक्ष एवं वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक राज बहादुर ऐरले उपमहानगरपालिकाको तर्फबाट विपद् पूर्वतयारी र व्यवस्थापनलाई प्राथमिकता दिने गरेको र त्यसमा प्रगति समेत गरिरहेको बताए। 

“हामीलाई थाहा छ, विपद् बाजा बजाएर आउँदैन। अहिले नै पनि आउन सक्छ। त्यसैले विपद् स्वयंसेवक तयार पार्ने कार्य निकै महत्त्वपूर्ण छ। हामी कहाँ विपद् घटना आइपर्दा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी आइपुग्न समय लाग्ने र त्यसका लागि नगर प्रहरी परिचालित हुने गरेको छ। त्यसैले उहाँहरूको क्षमता अभिवृद्धि गर्ने कार्य खुसीको कुरा हो”, उनले भने।

तालिम संयोजक भूकम्प प्रविधि राष्ट्रिय समाजका नेपालका विज्ञ डा. गणेश कुमार जिमीले नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको तालिम पाठ्यक्रम हाल पहिलो चरणमा पाँच ठाउँमा कार्यान्वयन गर्ने क्रममा धनगढीमा आएको बताए। उनले तालिममा सिकेका ज्ञान र सीपको प्रयोग हुने गरी अन्तिम दिनमा विपद् परिदृश्यमा आधारित अभ्यास गरेर सिकाइलाई मूल्याङ्कन गरिने उनले बताएका छन्।

धनगढी उप–महानगरपालिकाका विपद् सम्पर्क व्यक्ति दीपक भण्डारीले यो विपद् स्वयंसेवक तालिम निकै महत्त्वपूर्ण रहेको बताउँदै सबै सहभागीलाई तालिममा ध्यान दिएर धेरै कुरा सिकेर, बुझेर सम्भावित विपदमा योगदान दिन सक्ने गरी आफूलाई विकास गर्न सुझाव दिएका छन्।

सो अवसरमा नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित युएनडिपि प्रतिनिधि हिमाल ओझा र प्रसिद्ध पोखरेल, युएन वुमनका प्रतिनिधि दीपा पौडेल, रेडक्रसबाट विकास नेपाली लगायत साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा धनगढी उप–महानगरपालिकासँगको समन्वय र भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपालको प्राविधिक सहायता एवं सुपर परियोजना मार्फत युएनडिपि, युनिसेफ, युएन वुमन, ह्यान्डिक्याप इन्टरन्याश्नलर रुडुकसँगको सहकार्यमा श्रावण १८ देखि २४ सम्म सञ्चालित यस तालिममा धनगढी उप–महानगरपालिकाका ८ महिलासहित जम्मा २४ जना नगर प्रहरी, दमकल कर्मचारी र समुदायमा क्रियाशील स्वयंसेवीहरूको सहभागिता रहेको छ। तालिम सञ्चालनका लागि भूकम्प प्रविधि राष्ट्रिय समाजका नेपालका डा। गणेश कुमार जिमीको नेतृत्वमा तालिमका विषय विज्ञ सम्मिलित ९ जनाको प्रशिक्षक समूह रहेको छ।

clock सोमबार १९, साउन २०८२ ०८:०५

प्रतिक्रिया