दार्चुलाको सुर्माभवानीमा बिरे जात्रा सुरु
दार्चुला। दार्चुलाको सबैभन्दा ठुलो जात्राका रूपमा मनाइने सुर्माभवानी ‘बिरे जात्रा’ सुरु भएको छ । हरेक तेस्रो वर्षमा दार्चुला र बझाङ जिल्लाको सिमानामा लाग्ने यस वर्षको ‘बिरे जात्रा’ साउन ८ गते (औसी) देखि सुरु भएको अपिहिमाल गाउँपालिका–३ का स्थानीय कल्यानसिंह बोहोराले जानकारी दिनुभयो ।
औँसीदेखि जात्रा मनाउन जाने बिरेहरू छुट्टिएर बसेको उहाँले बताउनुभयो । जात्राको विशेषता र मान्यता अनुसार जात्रामा सहभागी हुने पुरुष मानिस औँसीदेखि नै मासुजन्य पदार्थ छोडेर घरपरिवारको सम्पर्कबाट समेत छुट्टिएर देउघरमा बस्ने गर्ने उहाँले जानकारी दिनुभयो ।
यो वर्षको ‘बिरे जात्रा’ साउन १८ गतेदेखि साउन २४ गतेसम्म सुर्माभवानीमा जात्रा लाग्ने उहाँले बताउनुभयो । जात्राको पहिलो दिन आइतबार रतेडी जात हुने अपिहिमाल गाउँपालिका–३ का वडाध्यक्ष गगनसिंह कार्कीले जानकारी दिनुभयो । यो जात्रा अपिहिमाल गाउँपालिका–३ क्षेती घाजिरमा लाग्ने गर्दछ ।
अपिको घाजिर हुँदै बझाङको सुर्मा सरोवरको सीमासम्म यो जात्रा मनाइने गरिन्छ । उच्च हिमशृङ्खलाको बिचमा अवस्थित सरोवर धार्मिक पर्यटकीय तथा सांस्कृतिक दृष्टिकोणले महìवपूर्ण रहेको छ ।
सुर्माभवानीलाई बझाङका सिकारीले लखेट्दा सुर्मा तालमा विलय भएको मान्यता छ । सोही कारण सुर्मातालमा अपिहिमालको खण्डेश्वरीबाट जाने तीर्थालुले सरोवरमा पूजा गरेपछि मात्रै बझाङबाट आउने तीर्थालुले पूजा गर्ने चलन रहेको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताउनुभयो ।
सुर्मासरोवर जात्रा छ हजार ५२३ मिटर उचाइमा गएर मनाइने गरिन्छ । जात्राका लागि क्षेत्री पुख्र्यौली घर भएका स्थानीय र घाजिर थर भएका समुदायका तीर्थालुले औँसीदेखि नै एक छाक मात्र खाएर सुर्माभवानीको व्रत बस्नु पर्ने परम्परा छ । सुर्मासरोवर तीर्थ जाने व्रतालु भक्तलाई बिरे भनिन्छ । बिरे दुई प्रकारका हुन्छन् ।
जसमा पहिलो पटक जानेलाई बालो बिरे र पटक–पटक गएकालाई बुढोबिरे भन्ने चलन छ । सुर्माभवानी जात्रामा सहभागी हुने भक्तजनलाई जात्रा अवधिभर लसुन, प्याज, मसुर, मासु तथा रक्सी जस्ता भोजन निषेध गरिएको छ । सात दिनसम्म परम्परादेखि नै चलिआएका धर्म संस्कृति अनुसार गीत गाउँदै सुर्माभवानीको जात्रा समाप्ति हुने गर्छ ।
प्रतिक्रिया