कञ्चनपुरको बेलौरीमा बाघको खोजी गर्न तीन हात्ती परिचालन
कञ्चनपुर । कञ्चनपुरमा बस्तीमा पसेको बाघको खोजीका लागि हात्ती परिचालन गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका–९, रतनपुरमा बाघको खोजीका लागि हात्ती परिचालन गरिएको हो ।
मङ्गलबार साँझ रतनपुर स्थित आदर्श नगरमा बाघ सहित दुई वटा डमरु पनि साथमा रहेको स्थानीयले देखेपछि शुक्लाफाँटा निकुञ्ज कार्यालयलाई खबर गरेका थिए । निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले सूचना पाए लगत्तै निकुञ्जबाट एक पोथी हात्ती (रूपकली) र दुइवटा भाले हात्ती (लबप्रसाद र सिद्दप्रसाद) गरी तीन हात्ती सहितको टोली पठाइएको जानकारी दिए ।
बुधबार साँझ बाघको खोजी गर्न बेलडाँडीमा बास बसेको हात्तीसहितको टोली बिहीबार बेलौरी नगरपालिका—९, कुण्डा स्थित वैजनाथ मध्यवर्ती उपभोक्ता सामुदायिक वनमा बास बसेको छ । बिहीबार दिउँसोसम्म रतनपुर क्षेत्रमा बाघको खोजी गरेको हात्ती सहितको टोलीले नभेट्टाएपछि साँझ कुण्डा स्थित सामुदायिक वनमा बास बसेको टोलीमा सहभागी निकुञ्जका पञ्च चिकित्सक आभास श्रेष्ठले बताए ।
बेलौरी नगरपालिका–९ मा यसअघि चितुवा देखा परेको थियो । केही महिना पहिले चितुवाले घरमै गएर बाख्रा मारेको स्थानीयहरूले बताएका थिए । तर केही दिन देखी उक्त क्षेत्रमा दुई डमरु सहित बाघ देखिएपछि स्थानीयहरू त्रसित बनेका छन् ।
यद्यपि उक्त क्षेत्रमा बाघ या चितुवा के देखिएको भन्ने यकिन भने नभएको पञ्च चिकित्सक श्रेष्ठले बताए । शुक्रवार बिहानै देखि उक्त क्षेत्रमा हात्ती परिचालन गरेर ड्रोन क्यामेराबाट बाघको खोजी गरिने निकुञ्ज कार्यालयका पञ्च चिकित्सक श्रेष्ठले बताए ।
प्रतिक्रिया