हायू परिवारका सबै सदस्य फेला, गाडी रिजर्भ गरेर पोखरा गएका थिए

  मङ्गलबार १३, साउन २०८२ ०७:५२

पोखरा । शुक्रबारदेखि हराएका सिन्धुलीका हायू परिवारका सबै सदस्य कास्कीको गगनगौंडामा फेला गरेका छन् । उनीहरूलाई पोखराको माथिल्लो गगनगौँडा क्षेत्रबाट प्रहरीले भेट्टाएको हो । कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार १५ जनाले आफूहरू मजदुरीको काम गर्न पोखरा आएको बताएका छन् । 

उनीहरू गगनगौँडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला पारिएको ओलियाले जानकारी दिए । 

’हामी लेबर काम गर्ने हो, यतातिर काम गर्छौँ भनेर काम खोज्न आएको भन्दै छिरेका रहेछन्,' उनले भने, 'सबै जनालाई अहिले इलाका प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ । उनीहरू पोखरामा बस्न आएको प्रहरीको सोधपुछका क्रममा खुलेको छ । उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको पनि खुलेको छ । पोखरा आएपछि एक दिन होटलमा बसेका उनीहरू हिजो (एक दिनअघि) मात्र होटलबाट चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए ।'

उनीहरू १४–१५ दिन बस्ने योजनाले आएका भन्ने बुझिएको ओलियाले जानकारी दिए । होटलबाट निस्किएको भोलिपल्टै उनीहरूलाई प्रहरीले फेला पारेको हो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बाट हायू परिवार गत शुक्रबारदेखि बेपत्ता भएको थियो । गाउँपालिकाले १६ जना बेपत्ता भएको जानकारी दिएको थियो । तर प्रहरीको अनुसन्धानका क्रममा सुजता हायू भने श्रीमान्‌सँग काठमाडौँमा बस्ने गरेको खुलेको थियो । 

यी हुन् हायू परिवारका १५ जना 

१. उर्मिला हायु, ५२ वर्ष (आमा) 
२. कमला हायु, २७ वर्ष (जेठी छोरी) 
३. कोमल माया हायु, २३ वर्ष (माइली बुहारी) 
४. उषा हायु, १९ वर्ष (छोरी) 
५. अस्मिता हायु, १८ वर्ष (छोरी) 
६. राजु हायु, २९ वर्ष (जेठो छोरो) 
७. हिमाल हायु, २४ वर्ष (माइलो छोरो) 
८. लाल बहादुर हायु, १६ वर्ष (साँइलो छोरो) 
९. वेग बहादुर हायु, १४ वर्ष (छोरो) 
१०. लक्ष्मण हायु, ११ वर्ष (छोरा) 
११. सुवर्ण हायु, १२ वर्ष (छोरा) 
१२. ओम कुमारी हायु, १० वर्ष (छोरी) 
१३. अर्जुन हायु 
१४. रियासा हायु, 
१५. शान्ता हायु, १५ वर्ष (छोरी)

clock मङ्गलबार १३, साउन २०८२ ०७:५२

प्रतिक्रिया