धनगढीमा साढे ७ ग्राम खैरो हेरोईनसहित चार जना पक्राउ
धनगढी । कैलालीमा करीब साढे ७ ग्राम लागूऔषध खैरो हेरोईनसहित चार जनालाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ को ब्यारेल नजिक र १४ को खुटिया टोलबाट लागूऔषध खैरो हेरोईनसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–२ को ब्यारेल नजिकै सुपप्र०१००८ प २७३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा धनगढी–७ बस्ने १९ वर्षीय जिवन मन्ने र २७ वर्षीय आदित्य खड्कालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए । उनीहरुको साथबाट चार ४ ग्राम ३८०मिलिग्राम लागूऔषध खैरो हिरोईन बरामद गरिएको छ ।
दुवै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो ।
यस्तै, धनगढी उपमहानगरपालिका–१४ को खुटिया टोलबाट प्र।३–०२–००७ प ५५२० नम्बरको मोटरसाईकल चेकजाँच गर्दा थप दुई जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढी–१४ बस्ने २५ वर्षीय सुभम राना र सेवा राना रहेकको डीएसपी सिंहले बताए । उनीहरुको साथबाट तीन ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हेरोईन बरामद गरिएको छ ।
दुवै ठाउँबाट ७ ग्राम ४४० मिलिग्राम लागूऔषध खैरो हेरोइन र दुई मोटरसाईलसहित चारै जनालाई पक्राउ गर्दै हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया