धनगढीको वेलादेवी तालमा डुङ्गा सञ्चालन
धनगढी । “डुङ्गा चढ्न वेलाताल जाऔँ, पर्यटन प्रवर्धन गरौँ” भन्ने नारासहित धनगढी उपमहानगरपालिका‑११ स्थित वेलादेवी धामको वेलातालमा डुङ्गा सञ्चालन गरिएको छ। धनगढी उप‐महानगरपालिकाकी उप‑मेयर कन्दकला रानाले शनिवार एक औपचारिक र्काक्रमकाबिच डुङ्गा उद्घाटन गरेकी छन्।
रानाले धनगढी उपमहानगरपालिका भित्रका सांस्कृतिक तथा पर्या‐पर्यटनको सम्भावना बोकेका र धार्मिक महत्वका क्षेत्रहरुलाई प्राथमिकताका साथ पालिकाले स्तरोन्नति गरिरहेको बताइन्। “हामीले नगरभित्र ८४ वटा ताल‑तलैयाहरूको पहिचान र नक्साङ्कन गरेका छौँ‚ तिनको संरक्षण गर्न अतिक्रमण हटाउने हाम्रो प्रयास जारी छ” उनले भनिन्‚“वेलादेवी तालमा डुङ्गा सञ्चालनको सुरुवात धार्मिक, आध्यात्मिक र पर्यटनका हिसाबले महत्वपूर्ण छ।”
उनले मन्दिर र तालको स्तरोन्नतिको लागि पालिकाले अपनत्व लिएर काम गरिरहेको बताएकी छन्। त्यस्ता क्षेत्रहरूको सबैले अवलोकन र संरक्षण गर्नु पर्नेमा उनको जोड छ। त्यस्तै, वडा नं. ११ का वडाध्यक्ष रुपबहादुर कुँवरले स्थानीय सरकार, समुदाय र पर्यटनसँग सम्बन्धित सबै निकायको प्रयासमा मन्दिरको व्यवस्थापन र डुङ्गा सञ्चालन सम्भव भएको वताए।
वेलादेवी मन्दिर तथा धार्मिक वन व्यवस्थापन समितिका अध्यक्ष कविराज जोशीले पर्यटन प्रवर्धनमा डुङ्गा सञ्चालनले टेवा पुग्ने बताए। उनले धनगढी उप‐महानगरको सहयोगमा एक लाख ५० हजार लागतमा उक्त ‘४ सिट’ भएको डुङ्गा खरिद गरिएको बताए।
साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको वेलादेवी मन्दिर तथा धार्मिक वन परिसरमा पर्यटक एवम् भक्तजनहरूका लागि व्यवस्थित संरचनाहरूको निर्माण गरिएको छ। “पूजा तथा धार्मिक कार्यको लागि शिव र देवी मन्दिर, विवाह, व्रतबन्धको लागि विवाह मण्डप, होमकुण्ड, स्वच्छ खानेपानी तथा शौचालय, वनभोज स्थल र चिल्ड्रेन्स पर्क र गोल घरहरू निर्माण गरेका छौँ,” उनले भने।
धनगढीको मुख्य बजारदेखि साढे चार किलोमिटरको दुरीमा वेलादेवीपूर धाम अवस्थित छ। डुङ्गा सयर गरेर पर्यटन पर्वद्र्धन गर्न उनले सबैलाई आग्रह गरेका छन्। त्यस्तै वेलादेवीपूर धामका निवर्तमान अध्यक्ष अर्जुनबहादुर खड्काले मन्दिरको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माण गरि अझ व्यवस्थित किसिमले भौतिक संरचनाहरूको निर्माण गर्ने कार्य भईरहेको बताएका छन्।
प्रतिक्रिया