निर्मला पन्त हत्याको सात वर्ष : गृहमन्त्रीका हलुका आश्वासन, रहस्य गर्भमै
धनगढी । जिल्ला प्रहरीमा कैयौँ एसपी फेरिए, नेपाल प्रहरीले छ आईजी पाइसक्यो । अनि पाँच जना त गृहमन्त्री नै बनिसके । तर, १० साउन २०७५ मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त घटनाको रहस्य भने गर्भमै छ । सञ्चारकर्मी हुँदा निर्मला पन्त हत्या घटनालाई जोडतोडका साथ मिडियामार्फत उठान गर्थे रवि लामिछाने । ११ पुस २०७९ मा उनै लामिछाने देशको गृहमन्त्री भए । शपथग्रहणपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरे । ७२ घण्टामै दोषी पत्ता लगाउने दाबी पनि गरे । तर, लामिछानेको बोली झुट सावित भयो । गृहमन्त्री भएको चार दिनपछि अर्थात् १५ पुस २०७९ मा तत्कालीन डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो । ‘उक्त टोलीको अनुसन्धानपछि शंकास्पद भन्दै पाँच जनाको डीएनए परीक्षण गरिएको थियो,’ एक प्रहरी अधिकारीले भने, ‘संकलित नमुनाको रिपोर्ट मेल खाएन । घटनाको अनुसन्धान फेरि शून्यमै झरेको थियो ।’
पहिलो कार्यकालमा निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धानमा फेल भएका लामिछानेले दोस्रोपटक पनि गृहमन्त्री बन्ने अवसर पाए । ३० असार २०८१ मा त तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान निष्कर्षमा पुग्नै लागेको खुलाए । मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने, ‘मैले नभनौँ भनेको तर भन्नैपर्ने भयो, निर्मला पन्तको विषयमा अत्यन्तै नजिक पुगेका छौँ । नतिजा आओस् अनि भनौँला भनेर पर्खेको थिएँ । हामी कति नजिक पुगेका छौँ, सुरक्षा निकायलाई थाहा छ । मलाई क्रेडिट चाहिँदैन ।’
लामिछानेको गृहमन्त्री पद स्थायी थिएन । गृहमन्त्रीबाट बिदा भएका उनी अहिले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागारमा छन् । पन्तको बलात्कार गरी हत्या भएपछि संलग्नलाई कारबाहीको दायरामा ल्याउन राज्यलाई दबाब दिनेमध्ये अग्र मोर्चामा थिए कांग्रेसका नेता रमेश लेखक । घटनाको अनुसन्धानमा सरकार असफल भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने पनि माग गर्थे उनी । ‘निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्नु सरकारको असफलता हो,’ लेखक त्यो बेला भन्थे, ‘यसको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ ।’
२०७५ भदौमा त लेखकले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नुपर्ने बताएका थिए । ‘निर्मला पन्त बहिनीको बलात्कार र हत्या प्रसंगमा झुटो बोल्ने सम्माननीय प्रधानमन्त्री केपी ओली तथा महिला हिंसा सरकार र पार्टीलाई असफल गर्ने षड्यन्त्र हो कि भन्ने पूर्वप्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा माफी माग्नुपर्छ,’ लेखकले भनेका थिए, ‘निर्मलाको बलात्कार र हत्याको अपराधी खोज्न असफल सरकारका नायक प्रचण्डका सार्वजनिक रूपले महिला हिंसा सरकार र पार्टीलाई असफल पार्ने नियोजित कार्य वा षड्यन्त्र हुन् कि भन्नेजस्ता अभिव्यक्ति सुन्दा उहाँको मानसिक दरिद्रताप्रति दया जाग्यो ।’
ओलीले निर्मला हत्याकाण्डमा राजनीति भएको भनेका थिए भने प्रचण्डले पार्टी र सरकारलाई झुकाउन यस्ताखाले घटना नियोजित रूपमा गराइएको बताएका थिए । निर्मलाको न्यायका लागि आन्दोलनमा समेत सहभागी भएका लेखक अहिले गृहमन्त्री छन् । आफ्नै क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि राज्यसत्ताको नेतृत्वमा पुगेपछि पीडित परिवार न्याय पाउने आसमा थिए । तर, लेखक गृहमन्त्री बनेको १४ महिना नाघेको छ । न दोषी पत्ता लागे, न नयाँ शिराबाट घटनाको अनुसन्धान नै थालिएको छ । बरु गृहमन्त्री लेखक अहिले निर्मला प्रकरणबारे खुलेर बोल्न चाहँदैनन् ।
सुदूरपश्चिम आउँदा निर्मला घटनाबारे गृहमन्त्री लेखकलाई प्रश्न सोधिन्छ । तर, उनले सधैँका लागि रेडिमेट जवाफ फर्काउने गरेका छन् । ‘निर्मला बहिनीको बलात्कारपछि हत्या भएको लामो समय भइसकेको छ । तथापि अनुसन्धानलाई जारी राख्नुपर्छ’, गृहमन्त्री भन्ने गर्छन् । निर्मला पनि लेखकको निर्वाचन क्षेत्रकै बासिन्दा थिइन् ।
प्रतिक्रिया