यात्रुलाई जतासुकै फोहोर नफाल्न अनुरोध गर्दै धनगढी उपमहानगर
धनगढी । ‘धनगढी उपमहानगरपालिकामा प्रवेश गर्नुभएकोमा यहाँहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्दर्छौ, धनगढी उपमहानगरपालिका क्षेत्रभित्र कहीँकतै पनि कुनै किसिमका फोहोर जथाभाबी फालेमा रु. पाँच सय देखि रु। १५ हजारसम्म जरिमाना रहेको कुरा सम्पूर्णलाई जानकारी गराउँदछौं र गाडी चालकले गाडीमा अनिवार्य रूपमा डस्टबिनको व्यवस्था गरिदिनुहोला धन्यवाद १ जानुहोस् ।’
माथिका कुरा धनगढीमा प्रवेश गर्ने सवारीसाधनमा यात्रारत यात्रुलाई धनगढी उपमहानगरपालिकाका कर्मचारीले सवारीसाधन रोकेर माइकिङ गरेर सम्झाउँदै भन्ने गरेका छन् । तपाईं धनगढी आउँदै हुनुहुन्छ भने धनगढीमा जथाभावी फोहोर फाल्दा होसियारी अपनाउनु होला नत्र, त जरिमानामा पर्नुहोला ।
कैलालीको धनगढीमा आउने यात्रीलाई जथाभाबी फोहोर नफाल्न उपमहानगरपालिकाले माइकिङ गरेर सम्झाउने गरको छ । छोटो तथा लामो दुरीका यात्रुवाहक गाडीमा सवार यात्रुलाई उपमहानगरपालिकाले जथाभाबीरुपमा फोहोर नफाल्न गाडी रोकेर दिनहुँ सम्झाउन थालेको छ ।
धनगढी प्रवेश गर्ने यात्रुहरुलाई जथाभाबी फोहोर नफाल्न गाडी रोकेर माइकिङ गर्ने काम उपमहानगरपालिकाले गर्दै आइरहेको छ । उपमहानगरभित्र कार्यरत नगर प्रहरी र कर्मचारीले धनगढीमा जथाभाबी फोहोर नफाल्न धनगढी प्रवेश गर्ने नाकामा गाडी रोकेर माइकिङका माध्यमबाट सम्झाउने गरेको उपमहानगरपालिकाको सरसफाइ शाखाले जनाएको छ ।
धनगढी प्रवेश गर्ने नाकामा खटिएका उपमहानगरपालिकाका कर्मचारीले गाडी, टेम्पो, अटोरिक्सा रोकेर माइकिङकोे माध्यमबाट जथाभाबी फाहोर नफाल्न र सडक किनारामा राखिएको डस्टबिनमा मात्र फोहोर राख्न भनेर सम्झाउने अभियानको सुरुवात गरेको उपमहानगरपालिकाका सामुदायिक शाखा प्रमुख टंक विष्टले बताए ।
उनले विशेष गरी धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगरले निर्माण गरेको धनगढी प्रवेशद्वारमा छोटो तथा लामो दुरीमा सवार यात्रुलाई जथाभाबी फोहोर नफाल्न तथा धनगढी प्लाष्टिक मुक्त क्षेत्र रहेकोले प्लाष्टिकका झोला प्रयोग नगर्न भनेर सचेत गराउने गरेको जानकारी दिए ।
धनगढी प्रवेश गर्ने यात्रु तथा गाडी चालक र स्टाफलाई माइकिङको माध्यमबाट धनगढीमा जथाभाबी फोहोर नफाल्न र जथाभाबी फोहोर फालेको पाइएमा कारबाही हुने भन्दै चेतावनी दिने काम समेत भइरहेको छ ।
ट्राफिकको सहयोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को ६ लेन सडकको उत्तरी सिमाना प्रवेशद्वार नजिकै धनगढी प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई रोकेर उपमहानगरपालिका क्षेत्रभित्र गुट्खा, चकलेटका कभर, पानीका बोतललगायत अन्य फोहोर जथाभाबी सडकमा नफालिदिन यात्रुलाई आग्रह गर्ने गरेको सामुदायिक शाखा प्रमुख विष्टले बताए ।
सफा धनगढी अभियान अन्तर्गत उपमहानगरपालिकाले धनगढी प्रवेश गर्ने हरेक यात्रुवाहक बसमा सवार यात्रुलाई धनगढीमा फोहोर नफाल्न सचेत गराउने काम जारी छ । धनगढीमा यसअघि जथाभाबी फोहोर फाल्ने विभिन्न व्यक्ति एवं संघसंस्थालाई उपमहानगरपालिकाले जरिमाना समेत गराइसकेको छ । धनगढीको कुनै पनि स्थानमा फोहोर फाल्न निधेष गरिएको सामुदायिक शाखा प्रमुख विष्टको भनाई रहेको छ ।
सार्वजनिक स्थानहरुमा राखिएका डस्टबिनहरुमा मात्र फोहोर फाल्न उपमहानगरपालिकाले सबैमा आग्रह गर्दै आएको छ । कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै डस्टबिन समेत राखिएको छ । धनगढीलाई सफा सहरको रुपमा विकास गर्न जथाभाबी फोहोर फाल्ने बानीमा सुधार ल्याउन उपमहानगरले विभिन्न सचेतनामुलक कार्यक्रमको समेत आयोजना गर्दै आएको बताएको छ ।
उपमहानगरभित्रका १९ वटै वडाभित्र हरेक टोल तथा गाउँमा फोहोरको उचित व्यवस्थापनका लागि महिला समुह नै बनाएर टोल तथा गाउँघर सफा गर्ने काम हुँदै आएको छ । उपमहानगरपालिकाले धनगढीमा प्लाष्टिक बिक्री र प्रयोगमा समेत यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।
प्रतिक्रिया