आगलागीबाट ध्वस्त भएको बाजुराको बाम्का बजारको पुनर्निर्माण
बाजुरा । गत जेठ २३ गते दिउँसो भीषण आगलागीबाट ध्वस्त भएको बाम्का बजारको पुनर्निर्माण भएको छ । स्थानीय, प्रदेश तथा सङ्घीय सरकार र विभिन्न सङ्घ संस्थाको आर्थिक सहयोगमा बाम्का बजारको पुनर्निर्माण गरिएको हो ।
बाजुराको मुख्य व्यापारी केन्द्रका रूपमा चिनिँदै आएको बुढीगङ्गा नगरपालिकाको–५ को बाम्बास्थित बाम्का बजारमा टिनका टहरा ठडिए पनि त्यसमा सामान अझै राख्न सकिएको छैन । जेठ २३ गते नवदुर्गा होटेलमा सिलिन्डर ग्यास पट्किएर भएको आगलागीमा झन्डै ३६ भन्दा बढी पसल र होटेल जलेर नष्ट भएका थिए । टहरा ठडिए पनि पसल र होटेल पहिलेको अवस्थामा आउन सकेको छैन ।
यहाँ अधिकांश पसलेले बैङ्क तथा वित्तीय संस्थाको ऋण लिएर व्यापार सुरु गरेका थिए । आगलागीका कारण ती पसले आर्थिक मारमा परेका छन् । बाम्का बजारका आगलागीपीडित दीपक साउदले भने, “बाहिरका लागि यो बाम्का बजार बजार देखिए पनि हामीहरूका लागि भने यहाँ घरबास जस्तो थियो । सबै ध्वस्त भएको छ ।”
आगलागी हुँदा शैक्षिक प्रमाणपत्र, लालपुर्जा, बैङ्क कारोबारका कागजात जलेर नष्ट भएको छ । सहयोगबाट टहरा निर्माण भए पनि यसमा मालसामान हाल्न निकै समस्या भइरहेको उनले बताए । यहाँ त्रिवेणी नगरपालिकाले १०, बुढीगङ्गाले पाँच र हिमाली स्वामीकार्तिक, जगनाथ, बुढीनन्दा, बडीमालिका, खप्तड, छेडेदहलगायतका पालिकाले एकरदुई लाख सहयोग गरेका थिए । प्रदेश सरकारले चालिस लाख रुपियाँ सहयोग गरेको छ ।
प्रतिक्रिया