माग सुनुवाइ नभएपछि भजनीका स्थानीयले गरे पैसा सङ्कलन गरेर तटबन्ध

  शुक्रबार ०२, साउन २०८२ १३:१२

धनगढी । कैलालीको भजनी नगरपालिका–४ झलझलियाका स्थानीयले घरबाट पैसा सङ्कलन गरेर नदीमा जैविक तटबन्ध बनाएका छन् ।

नदी कटान नियन्त्रणका लागि गरेको याचना कुनै पनि तहको सरकारले नसुनेपछि उनीहरुले प्रत्येक घरबाट रकम सङ्कलन गरेर कान्द्रा नदीमा जैविक तटबन्ध बनाएका हुन् । उनीहरुले बाँस, बोरा र झारपात प्रयोग गरेर तटबन्ध बनाएका छन् ।

स्थानीय, प्रदेश र सङ्घ सरकारले माग सुनुवाइ नगरेपछि प्रत्येक घरधुरीबाट पैसा सङ्कलन गरेर तटबन्ध निर्माण गरेको झलझलियाका भलमनसा भरत चौलागाइँले बताए । बाँस खरिदका लागि प्रत्येक घ।बाट एक सयको दरले रकम सङ्कलन गरेको उनको भनाइ छ ।  

चौलागाइँका अनुसार जैविक तटबन्ध निर्माणका लागि पाँच टोल विकास संस्थाबाट रकम हालिएको छ । त्यस्तै, गाउँभरिका गरेर करिब चार सय जनाले श्रमदान गरेका छन् ।

खेती जोगाउनका लागि तटबन्ध आवश्यक रहेको स्थानीय पदम सुनारले बताए । उनले नदीले गर्दै आएको क्षति रोक्नका लागि गाउँवासी आफैंले जुर्मुराएर तटबन्ध गरिरहेको उल्लेख गरे ।

कैलालीमा भजनी सबैभन्दा बढी विपतग्रस्त पालिका हो । यो पालिकाका स्थानीयले बर्सेनि बाढी, डुबान, कटान समस्या झेल्दै आएका छन् । कान्द्रा नदीलेमात्रै हरेक वर्ष ठुलो क्षति गर्ने गरेको वडा अध्यक्ष जनताराम चौधरीले बताए । उनले भने, “यो नदीले धेरै क्षति गर्दै आएको छ । एकातिर तटबन्ध गर्‍यो, अर्कोतिर जमिन कटान गर्न थाल्छ । जता सोझियो, उतै क्षति गर्छ ।”

वडा अध्यक्ष चौधरी स्थानीयले जैविक तटबन्ध बनाउनका लागि प्रत्येक घरधुरीबाट पैसा उठाएपछि आफूले पनि व्यक्तिगत रुपमा सहयोग गरेको जनाए । उनले पाँच÷दस लाख बजेटको तटबन्धले समस्या समाधान नहुने भन्दै कान्द्रा नदीको कटान नियन्त्रणका लागि ठुलै बजेटको आवश्यकता पर्ने बताए । “यसमा संघ सरकारबाटै काम हुनुपर्दछ”, उनले भने ।

जैविक तटबन्ध गर्नका लागि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले पाँच हजार बोरा सहयोग गरेको जनाइएको छ । स्थानीयले बोरामा बालुवा भरेर कटान नियन्त्रणका लागि राख्ने काम गरिरहेका छन् । 

clock शुक्रबार ०२, साउन २०८२ १३:१२

प्रतिक्रिया