कैलालीको गौरीगंगाका ‘हाकिम’ नगर प्रमुखका स्वकीयबाट कुटिए

  शुक्रबार ०२, साउन २०८२ ०७:१८

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेलका स्वकीय सचिव उमेश जोशीले ‘हाकिम’लाई कुटेका छन्। गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उप–सचिव) धर्मानन्द जोशीलाई नगर प्रमुख कडेलका सहयोगी उमेशले कुटेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता राजकुमार सिंहले नगर प्रमुख कडेलका सहयोगी उमेश जोशीले प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि हातपात गरेका बताए। तर, प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले प्रहरीमा जाहेरी तथा निवेदन दिएका छैनन्। 

इलाका प्रहरी कार्यालय, चौमालाको टोलीले बिहिवार दिनभरी प्रमुख प्रशासकीय अधिकृत जोशीको सुरक्षा गरेको छ। नगर प्रमुख देवीदत्त कडेलसहितको छलफलमा उनका सहयोगी उमेश जोशीलाई माफी दिने तयारी गरिएको छ।

छलफलमा सहभागी एक जनाले भने, ‘मेयर सापका स्वकीयले आज हाकिम सापलाई कुट्नु भयो। प्रहरी पनि आएको छ। उहाँहरूको बिचमा छलफल हुँदैन। हाकिम सापले माफी दिनुहुन्छ होला।’ 

उनीहरू सबै जना नगरपालिकाको कार्यालयबाट बाहिरिएका छन्। तर, प्रहरीको टोली अहिले पनि नगरपालिकाको कार्यालय परिसरमा रहेको छ। नगर प्रमुख कडेल र प्रमुख प्रशासकीय अधिकृत जोशीको बिचमा समेत असार महिना भरी बोलचाल बन्द रहेको बताइएको छ। तर, नगर प्रमुखका सहयोगी जोशीले हाकिमलाई कुट्नुको कारण खुलेको छैन।

clock शुक्रबार ०२, साउन २०८२ ०७:१८

प्रतिक्रिया