बजेट अभावमा तीन वर्षदेखि अलपत्र त्रिनगर छात्रावास

  बुधबार ३२, असार २०८२ ०६:३६

कैलाली । धनगढीको त्रिनगर माविमा छात्रावास निर्माणका लागि सुरु गरिएको भवन निर्माण कार्य बजेट नआएपछि अलपत्र परेको छ । दुई वर्षदेखि निर्माण रोकिएपछि भवन क्षेत्र झारपातले छोपिएको छ ।

सामाजिक विकास मन्त्रालयले पहिलो वर्ष ४० लाख बजेट दिएर निर्माण सुरु गराए पनि त्यसयता निरन्तर दुई आर्थिक वर्षमा बजेट छुट्याएन ।

सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा मन्त्रालयले १ करोड २५ लाखमा भवन निर्माणका लागि रकम उपलब्ध गराउने बताएको थियो । जसलाई आर्थिक वर्ष ०७९र८० मा ४० लाख बजेट दिएर दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी रनिङ बजेटमा राखिएको थियो ।

पहिलो चरणमा रकम प्राप्त भएपछि प्रारम्भिक चरणको काम सुरु भयो । दोस्रो चरणमा सम्पन्न हुनुपर्ने भवनका लागि आर्थिक वर्ष ०८०र८१ र ०८१र८२ मा पनि बजेट विनियोजन भएन । विद्यालयले आव ०८२र८३ मा बजेट आउँछ कि भन्ने आश गरेको थियो । तर यो वर्ष पनि भवन निर्माण गर्न बजेट नआएको भन्दै विद्यालयका प्रधानाध्यापक भूपालसिंह खड्काले दुःख व्यक्त गरे ।

‘दुई वर्षमा बनिसक्नुपर्ने भवन तीन वर्ष बितिसक्यो । यो वर्ष त पक्कै बजेट आउला भन्ने सोचेका थियौं तर आएन,’ खड्काले भने । त्रिनगरमा सुदूरपश्चिमका सबै पहाडी जिल्लाबाट विद्यार्थी आउँछन् । छात्रावास बनेमा विद्यार्थीले डेरामा बस्नुपर्ने बाध्यता हट्ने र पढाइमा सहज हुने विद्यालयको अपेक्षा छ ।

प्रधानाध्यापक खड्का भन्छन्, ‘अहिलेसम्म निर्माण सम्पन्न भइसकेर विद्यार्थीले बस्न पाइसक्नु पर्ने तर बजेट नआएर निर्माण कार्य रोकिएको छ । यसमा विद्यालय गम्भीर छ र विशेष पहल गरिरहेको छ ।’

उता सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत तथा सूचना अधिकारी जयदेव महरा विद्यालयले बजेट माग गर्न छुटाएको बताउँछन् । उनका अनुसार अधुरा भौतिक संरचनाका लागि माघ महिनामा बजेट माग्नु पर्छ । तर विद्यालयले माग गरेन । ‘अधुरो छात्रावास भवनका लागि विद्यालयले माघमा बजेट माग गर्नुपर्ने थियो, मागेन होला । त्यसैले बजेटमा छुटेको हुन सक्छ,’ उनले भने । अर्को वर्ष माग भए भवन निर्माणलाई बजेटमा समेटिने महराले बताए ।

प्रधानाध्यापक खड्का भने रनिङ बजेटको अर्थ सम्पन्न नभएसम्म बजेट दिने भएकाले मन्त्रालयले स्वतः छुट्याउनु पर्ने बताउँछन् । ‘रनिङ बजेट भनेको योजना सम्पन्न नभएसम्म निरन्तर दिइने बजेट हो । यसमा मन्त्रालयले स्वतः बजेट छुट्याउनु पर्ने होइन र ?’ उनले भने । रन्जना बिसि / कान्तिपुर

clock बुधबार ३२, असार २०८२ ०६:३६

प्रतिक्रिया