धनगढी उपमहानगरबाट दृष्टि फाउन्डेसनलाई लगातार तीन वर्ष पाँच–पाँच लाख सहयोग, सार्वजनिक अभिव्यक्ति र तथ्यमा फरक

  आइतबार २९, असार २०८२ १४:२०

धनगढी । धनगढी उप–महानगरपालिकाले दृष्टि फाउन्डेसनलाई लगातार तीन वर्षदेखि आर्थिक सहयोग गर्दै आएको तथ्य सार्वजनिक भएको छ। तर पनि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्ट र कैलालीको गोदावरीका नगर प्रमुख विरेन्द्र भट्टले भने उपमहानगरले कुनै सहयोग नगरेको दाबी गर्दै आएका छन्।

गत असार २२ गते कैलालीको अत्तरियामा दृष्टि फाउन्डेसनले सञ्चालन गरेको वृद्धाश्रम उद्घाटन गर्दै गोदावरीका नगर प्रमुख विरेन्द्र भट्टले धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले फाउन्डेसनलाई सहयोग नगरेको जिकिर गरेका थिए।

उनले, 'धनगढी नगरले नदिएपछि कल्पना भट्टको अनुरोधमा मैले नै सहयोगको पहल गरेको हुँ,' भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। त्यतिबेला उनले पूर्व नगर प्रमुख नृपबहादुर वडले दृष्टि फाउन्डेसन स्थापनामा महत्वपूर्ण भूमिका खेलेको समेत स्मरण गरेका थिए।

तर उपमहानगरपालिकाको आर्थिक अभिलेखमा भने उनीहरूको अभिव्यक्तिसँग मेल नखाने तथ्य फेला परेको छ। अभिलेखअनुसार, धनगढी उपमहानगरपालिकाले २०७९ सालदेखि निरन्तर तीन वर्षसम्म दृष्टि फाउन्डेसनलाई आर्थिक सहयोग गर्दै आएको छ।

पहिलो वर्षको सहयोग (२०७९/८०)

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ। उक्त रकम २०७९ असार २५ गते फाउन्डेसनलाई पाँच लाख रुपैयाँ फाउन्डेसनको खातामा जम्मा भएको अभिलेखमा उल्लेख छ।

धनगढीका वर्तमान नगर प्रमुख गोपाल हमाल २०७९ बैशाखमा निर्वाचित भएका हुन्। उनी निर्वाचित भएलगत्तै यो सहयोग गरिएको हो।

दोस्रो वर्षको सहयोग (२०८०/८१)

आर्थिक वर्ष २०८०/८१ मा पनि उपमहानगरपालिकाले ुसडक आश्रित मानवरबाल लक्षित विकास कार्यक्रमु अन्तर्गत दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

यो रकम २०८१ साल जेठ २ गते कर कट्टी गरेर फाउन्डेसनको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको छ। खर्च शीर्षक ३११२३ बाट यो रकम सहयोग गरिएको हो।

तेस्रो वर्षको सहयोग (२०८१/८२)

चालु आर्थिक वर्ष २०८१/८२ मा पनि उपमहानगरपालिकाले दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ। यो रकम २०८१ साल जेठ ५ गते भुक्तानी गरिएको हो।

सार्वजनिक अभिव्यक्तिमा भ्रम ?

कल्पना भट्ट र विरेन्द्र भट्टले २०७९ पछि फाउन्डेसनले कुनै सहयोग नपाएको दाबी गर्दै आइरहे पनि उपमहानगरपालिकाको भुक्तानी विवरणले भने यो दाबी गलत भएको पुष्टि गर्छ। तीन वर्ष लगातार फाउन्डेसनको खातामा रकम पठाएको देखिएको छ।

धनगढी उपमहानगरका प्रमुख गोपाल हमालको नेतृत्वमा रहेको कार्यपालिकाले 'सडक आश्रित मानव सहयोग कार्यक्रम' मार्फत फाउन्डेसनलाई सहयोग दिँदै आएको अभिलेखमा स्पष्ट छ। अब दृष्टि फाउन्डेसनले सहयोग पाएको वा नपाएको भन्ने विषयमा उठेको विवादले थप चर्चा पाउने देखिएको छ।

clock आइतबार २९, असार २०८२ १४:२०

प्रतिक्रिया