कैलाली कारागारमा लफडा : नाइके कुटिए, जेलरविरूद्व नाराबाजी
धनगढी । कैलाली कारागारमा कैदीबन्दीहरूबीच लफडा भएको छ । शनिबार दिउँसो कारागारका नाइके खगेन्द्र बोगटीमाथि कुटपिट भएपछि लफडा भएको हो ।
प्रहरीकाअनुसार कुटपिटमा परेका बोगटीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको नाक र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।
बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठको समूहले कुटपिट गरेको कारागार प्रशासनले जनाएको छ ।
घटना भएलगत्तै कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणा कारागार पुगेका छन् ।
एसपी राणाले कैदीबन्दीहरूबीच समान्य विवाद भएको बताउँदै साम्य भइसकेको बताए ।
सुरक्षा स्रोतकाअनुसार बिहीबार प्रमुख जिल्ला अधिकारी हमालले गरेको निरीक्षणको क्रममा ब्लक ए मा रहेका कैदीहरूसँग मोबाइल फेला परेको थियो ।
त्यसपछि शुक्रबार ब्लक ए मा रहेका ७ जना कैदीबन्दीलाई ब्लक बी मा सारिएको थियोे । तर, कारागारका नाइके बोगटीले आफू जेलरको मान्छे हुँ भन्दै रवाफ देखाएको भन्दै श्रेष्ठको समूहले कुटपिट गरेको थियो तर प्रहरीले भने कैदीबन्दीबीच धकलधाकल हुँदाखेरि नाईकेलाई चोट लागेको दाबी गरेको छ ।
८तर जेलर बसन्त खत्रीले श्रेष्ठलाई बोलाएर नाइकेका रूपमा काम गर्न भनेपछि उनले त्यहाँ विवाद गरेको दाबी गरिएको छ । यो कुराको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ ।
प्रमुख अधिकारी हमालले पनि समान्य विवादले घटना भएको बताउँदै अहिले साम्य भइसकेको जानकारी दिएका छन् ।
कैदीबन्दीहरूले जेलर बसन्त खत्रीविरूद्व नाराबाजी समेत गरेका छन् । उनीहरूले सीडीओ र प्रहरी प्रमुखकै अगाडि जेलर खत्रीले मनोमानी गरेको भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए ।
प्रतिक्रिया