बैतडीको खौला बजार कटानको उच्च जोखिममा
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित खौला बजार कटानको उच्च जोखिममा परेको छ । जमाडी नदीको किनारमा रहेको उक्त बजारका पसल र घरहरु कटानको उच्च जोखिममा रहेका दोगडाकेदार गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष गोपाल कार्कीले बताए ।
सोमबार राति जमाडी नदीमा आएको बाढीले खौलाका स्थानीय मानसिंह भण्डारीको शौचालय र गोपालसिंह भण्डारीको कुखुराको खोर बगाएको बताइएको छ । खौला बजार जोगाउन नदी किनारमा लगाएको तारजालसहितको तटबन्ध पनि बाढीले बगाएको स्थानीय भावना भण्डारीले बताइन् ।
बाढीले स्थानीयहरुले रोपाइँ गरेको केही खेत बगाएको छ भने बजार नै कटानको उच्च जोखिममा रहेको वडा अध्यक्ष कार्कीले बताए । बाढीले पुर्याएको क्षतिका बिषयमा जानकारी लिन मंगलबार दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की, वडा अध्यक्ष गोपाल कार्की, प्रहरी लगायतको टोली खौला बजार पुगेको थियो ।
यस्तै जमाडी नदीमा आएको बाढीले पञ्ज्युनयाँ क्षेत्रमा सिँचाइ गर्ने नहरको मूहान बगाएको छ । नहरको मूहानमा क्षति पुर्याएपछि स्थानीयहरुलाई रोपाइँ गर्न समस्या भएको छ । पञ्ज्युनयाँ क्षेत्रमा अहिले रोपाइँ चलिरहेको र नहर बाढीले भत्काएपछि समस्या भएको वडा अध्यक्ष कार्कीले बताए ।
प्रतिक्रिया