सुरो नेपालबाट ठगिएका कैलालीको गोदावरीका ११० किसान प्रहरीमा
धनगढी । सुरो नेपालबाट ठगिएका कैलालीका ११० जना किसान प्रहरीमा पुगेका छन्। जिल्लाको गोदावरी नगरपालिका–६ का ११० किसान आफूहरू ठगिएको भन्दै प्रहरी चौकीमा पुगेका हुन्। सुरो नेपालबाट ठगिएको भन्दै प्रहरीमा पुगेका उनीहरूलाई इलाका प्रहरी, मालाखेतीले जिल्ला प्रहरीमा पठाएको छ।
इलाका प्रहरी कार्यालय, मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले उनीहरूलाई किटानी जहारी दर्ताका लागि जिल्ला प्रहरी कार्यालय, कैलाली पठाएको बताए। उनले भने, ‘उहाँहरू धेरै जना चौकीमा निवेदनसहित आउनु भएको थियो। सङ्ख्या धेरै छ। उहाँहरूलाई ७५ प्रतिशत अनुदानमा पावर टिलर वितरण गर्ने भनिएको रहेछ। उहाँहरूको रकम छलफल गरेर फिर्ता दिलाउन सकिने अवस्था छैन। सुशीला खड्कालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। उता मुद्दा छ। जिल्ला प्रहरी कार्यालय, कैलालीमा पनि धेरै उजुरीहरू छन्। कञ्चनपुरको सकिएपछि यता पठाउने होला, जिल्लामा नै दर्ता गर्न भनेको छु।’
किसानहरूलाई ७५ प्रतिशत अनुदानमा कृषि उपकरण दिने भन्दै २५ प्रतिशत रकम अगाडि नै बुझाउनु पर्ने सर्त अनुसार गोदावरी नगरपालिका–६ मा मात्रै ११० किसानबाट ७० हजारदेखि एक लाख ३० हजारसम्म रकम असुल गरिएको थियो। २०८१ साउनमा किसानहरूबाट उक्त रकम सङ्कलन गरेर २ महिना भित्र माग अनुसारका कृषि उपकरण दिने सुरो नेपालका प्रतिनिधिको प्रतिबद्धता थियो। तर, एक वर्षसम्म किसानले उपकरण नपाएपछि उनीहरू प्रहरीमा पुगेका हुन्।
गोदावरी नगरपालिका–६ का वडामा वडाध्यक्ष जागुराम चौधरीकी बुहारी प्रियङ्का चौधरीले किसानबाट रकम सङ्कलन गरेकी किसानहरूले बताएका छन्। स्थानीय मिरा चौधरीले पावर टिलरका लागि गत साउन २० गते ७० हजार जम्मा गरेको भए पनि अहिलेसम्म पावर टिलर नपाएको बताइन्। वडाध्यक्षकी बुहारी भएकाले विश्वासले रकम दिएको भए पनि अहिले भोलि, पर्सी भन्दै टार्ने गरिएको उनले बताइन्। धनीराम चौधरीले ७० हजारमै अनुदानमा पावर टिलर पाउने आशाले रकम दिएको बताए। तर, एक्कासि आफूलाई पावर टिलर दिने संस्था सुरो नेपालकी अध्यक्ष जेलमा पुगेको सुनेपछि आफूहरू ठगिएको थाहा पाएको बताएका छन्।
वडाध्यक्ष जागु राम चौधरीको पैसा उठाउने आफ्नै बुहारी भए पनि आफ्नो भने संलग्नता नभएको दाबी छ। सुरो नेपालकी अध्यक्ष सुशीला खड्का (ओझा) र रकम असुलीमा संलग्न रहेको धनगढीको बंग्रा घर भएकी सुनिता चौधरी पक्राउ परेका छन्। पक्राउ परेकी सुनिता वडाध्यक्षकी बुहारी प्रियङ्काकी आमा हुन।
वडाध्यक्ष चौधरीले बुहारीले आमा र सुरो नेपालकी अध्यक्ष छुटेपछि पावर टिलर लगायतका कृषि सामग्री बाँड्ने बताउने गरेको बताए। उनले आफूले वडाबाट कुनै किसिमको पनि अनुमति नदिएको बताए। वडाध्यक्षकी बुहारी प्रियङ्काले भने यस विषयमा आफू नबोल्ने भन्दै फोन काटेकी थिइन।
सुरो नेपालले गोदावरी नगरपालिका मात्रै नभएर कैलालीका विभिन्न पालिकासहित कञ्चनपुर, बाँके बर्दियाका किसान ठगिएका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय किसानको ठगी सम्बन्धी उजुरी प्रहरीमा दर्ता गरेपछि सुरो नेपालकी अध्यक्ष सुशीला खड्का ओझासहितका व्यक्तिहरू जेठ १७ गते काठमाडौँबाट पक्राउ परेका थिए। उनीहरूलाई जिल्ला अदालत, कञ्चनपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ।
प्रतिक्रिया