टीकापुरमा साउन १ बाट प्लाष्टिक झोला प्रतिबन्ध

  शनिबार २१, असार २०८२ १४:३४

टीकापुर । टीकापुर नगरपालिकाले प्लाष्टिक झोलामा रोक लगाउने भएको छ । नगरपालिकाले साउन १ गतेदेखि नगरपालिका क्षेत्रभित्र प्लाष्टिकका झोला बिक्री वितरणमा रोक लगाउने भन्दै सूचना जारी गरेको छ । नगरपालिकाले प्लाष्टिक झोला बिक्री वितरणमा रोक लगाउनेबारे टीकापुरस्थित विभिन्न व्यवसायीहरूसँग छलफल थालेको छ ।

छलफलमा नगर प्रमुख रामलाल डगौरा थारुले जल, जमिन, वातावरण र मानिसका लागि निकै हानिकारक मानिएको प्लाष्टिकको झोला प्रयोगलाई निरुत्साहन गर्न सबै नगरबासी तथा व्यवसायीहरू एकजुट हुनुपर्ने बताए ।

‘हाम्रो वातावरण र मानव स्वास्थ्यका लागि हानिकारक मानिएको प्लाष्टिक झोला मात्रै रोक्न सक्ने हो भने पनि धेरै राहत हुन्छ,’ उनले भने, ‘व्यवसायी, उपभोक्ता सबैले सहयोग गरे छिट्टै टीकापुरलाई प्लाष्टिकमुक्त नगर बनाउन सकिन्छ ।’

कार्यक्रमका सहभागीहरूले प्लाष्टिक झोला बन्द गर्ने नगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताउँदै पालिकाले कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिए ।

नगरपालिकाले गत वर्ष नै प्लाष्टिक झोला बन्द गर्न ऐन पारित गरिसकेको छ । ऐनमा प्लाष्टिक झोला बन्द गरेपछि बिक्री गर्ने व्यापारीलाई पहिलो पटकको लागि १ हजार, दोश्रो पटक ३ हजार र तेश्रो पटक ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

ऐनमा प्लाष्टिक झोला प्रयोग गर्ने उपभोक्तालाई समेत जरिवाना गर्ने व्यवस्था छ । ऐनमा उपभोक्ताले प्रयोग गरे पहिलो पटक १० रुपैयाँ, दोश्रो पटक ५० रुपैयाँ र तेश्रो पटक १ शय रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ ।

नगरपालिकाले जनचेतनामूलक कार्यक्रम गर्ने, छलफललाई प्रभावकारी बनाउने, प्रचारप्रसार गर्ने तयारी थालेको सरसफाइ शाखा प्रमुख लोकबहादुर बुढाले जानकारी दिए ।

clock शनिबार २१, असार २०८२ १४:३४

प्रतिक्रिया