४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प
धनगढी । कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा ४० दिन देखि प्रशासनिक कामकाज ठप्प भएको छ । डीडीसीलाई धनगढी सार्न नहुने भन्दै स्थानीयले तालाबन्दी गरेदेखि डीडीसीको आर्थिक, प्रशासनिक कामकाज ठप्प भएको हो । २०६७ सालमा अत्तरियामा स्थापना भएको डीडीसी धनगढी सार्ने सम्झौता भएको कुरा बाहिरिएपछि स्थानीयले जेठ ८ गते कार्यालय घेराउ गरेर तालाबन्दी गरेका थिए । डीडीसीका लागि आवश्यक जग्गा अत्तरियामै उपलब्ध गराउनु पर्ने माग गर्दै तालाबन्दी गरिएको भए पनि डेढ महिना पुग्न लाग्दा पनि न तालाबन्दी खुलेको छ, न डीडीसी अत्तरियामा रोक्ने सम्झौता नै हुन सकेको छ ।
डीडीसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराइले किसानको भुक्तानीको काम रोकिदा कारखानामा पनि असर पर्न थालेको बताए । उनले दूध सङ्कलन मात्रै गरेर बिक्री वितरण गरिरहेको भए पनि किसानको भुक्तानी गर्न नसकेका कारण कारखाना सञ्चालनमा समस्या आइरहेको बताए । उनले पुरानो र तालाबन्दी गरे यताको ७ करोड किसानको भुक्तानी गर्न बाँकी रहेको बताए ।
तालाबन्दी खुलाउने विषयमा छलफल गरेपछि आन्दोलनरत पक्षले डीडीसी नसर्ने प्रतिबद्धता माग गरेकाले सहमति हुन नसकेको बताए । ‘तालाबन्दी खोल्ने प्रयास गरिएको हो । नगरपालिका सँग पनि कुरा गरेको हो । तर, लिखित प्रतिबद्धता माग गरिएपछि सहमति हुन सकेन’ उनले भने ‘यो प्रतिबद्धता दिने मेरो लेबलको कुरा भएन ।’
तालाबन्दी पछि डीडीसीलाई गोदावरी क्षेत्रकै ३ वटा जग्गा उपलब्ध गराउन सक्ने प्रतिवेदन गोदावरी नगरपालिकाले डीडीसीलाई बुझाएको थियो । डीडीसीका उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीलाई नगरपालिकाले गोदावरी नगरपालिका – १ को वडा कार्यालय नजिक, खैराना र बास्कोटामा जग्गा भिजिट गराएर उपयुक्त जग्गा उपलब्ध गराउन सकिने भएकाले कुनै एक जग्गा छनोट गर्न भनेको थियो ।
तर, हालसम्म डीडीसीले कुन जग्गा उपयुक्त हुन्छ भन्ने बारेमा खबर नपठाएको गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले बताए । उनले जग्गा छनोटका लागि डीडीसीले बोर्डमा प्रस्ताव राखेको खबर आए पनि कुन जग्गा लिने भन्ने बारेमा खबर नपठाएको बताए ।
डीडीसी संरक्षण सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले डीडीसीबाट यहाँबाट नसार्ने प्रतिबद्धता आउने बित्तिकै तालाबन्दी खुल्ने बताए । ‘डीडीसीले यहाँबाट सार्दैनौ भनेर प्रतिबद्धता दिएपछि हामी ताला खोलिदिन्छौ’ उनले भने ‘नगरपालिकाले ३ ठाउँमा जग्गा देखाएको छ । भवन पनि बनाइदिन्छौ भनेको छ । तर, पनि डीडीसीले बेवास्ता गरेका कारण हामीले तालाबन्दी यथावत् राखेका छौ ।’ उनले मंगलवार पनि जिल्ला प्रशासन कार्यालयमा ताला खोल्ने विषयमा छलफल भएको र, बुधवार सम्ममा डीडीसीबाट प्रतिबद्धता पत्र आउने आशामा आफू रहेको बताए ।
पहिलो पटक डीडीसी सार्ने कुरा बाहिरिएपछि पुस १७ गते डीडीसी विस्तारका लागि आवश्यक जग्गा अत्तरियामै खोज्ने भन्दै गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको संयोजकत्वमा जग्गा खोज्ने कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले ३ ठाउँमा जग्गा खोजी गरेर प्रक्रिया अगाडि बढाएको बताए पनि डीडीसी सार्ने काम नरोकिएको भन्दै स्थानीयले जेठ ८ गते कार्यालयमा तालाबन्दी गरिएको थियो ।
प्रतिक्रिया