धनगढीका झन्डै एक हजार घर डुबानमा, १३ जनाको उद्धार
धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अविरल वर्षापछि घर डुबानमा परेर फसेका १३ जनालाई प्रहरीले उद्धार गरेको छ ।
धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका ८ जना र धनगढी–१३ को श्रीलंकाका ५ जना गरी १३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बेलीका सिताराम रानाको एक तले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका ८ जनालाई उद्धार गरेर नजिकै रहेका आफन्तको घरमा सारिएको जानकारी दिए ।
उनका अनुसार धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका ५ जनाको उद्धार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले धनगढी उपमहानगरपालिका–१, २, ३,४,५,७,८ र १० नम्बर वडा वर्षाका कारण प्रभावित भएको बताए ।
करिब एक हजार घरधुरीमा पानी पसेपनि अहिलेसम्म क्षति नभएको जोशीले बताए ।
आइतबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । अहिले जस्तै वर्षा साँझसम्म भएमा धेरै मानिस प्रभावित हुनसक्ने बताउँदै सोही अनुसार तयारी भइरहेको बताए ।
प्रतिक्रिया