कञ्चनपुरमा एकै दिन तीन महिलालाई सर्पले टोक्यो
धनगढी । कञ्चनपुरमा एकै दिन तीन महिलालाई सर्पले टोकेको छ। जिल्लाको भीमदत्त, दोधारा चाँदनी र कृष्णपुर नगरपालिकाका महिलाहरूलाई आइतवार सर्पले टोकेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–११ भुजेलाकी ३५ वर्षीय लम्की लुहारलाई सर्पले टोकेको बताएको छ। खेतमा रोपाइ गर्ने क्रममा उनको दाहिने खुट्टामा सर्पले टोकेको हो। उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुँदैछ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ बुद्धनगरकी ४१ वर्षीय शान्ति देवी सुनारलाई सर्पले टोकेको छ। खोलामा माछा मार्ने क्रममा उनलाई आइतवार सर्पले टोकेको हो। सर्पले उनको दाहिने खुट्टाको कुर्कुच्चोमा टोकेको प्रहरीले बताएको छ। उनलाई उपचारका लागि दोधारा चाँदनी अस्पतालमा लगिएको थियो। पछि महाकाली प्रादेशिक अस्पताल रेफर गरिएको छ।
यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी ३४ वर्षीय विमला साउँदको दाहिने खुट्टामा सर्पले टोकेको छ। फर्सीका मुन्टा टिप्ने क्रममा उनलाई सर्पले टोकेको हो। उनलाई पनि उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगएको कञ्चनपुर प्रहरीले बताएको छ।
प्रतिक्रिया