सुदूरपश्चिममा ४५ प्रतिशत रोपाई सकियो

  आइतबार १५, असार २०८२ ०८:५५

धनगढी । सुदूरपश्चिममा ४५ प्रतिशत धान रोपाई सकिएको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार यस वर्ष प्रदेशका नौ वटै जिल्लामा ४५ दशमलव ४९ प्रतिशत रोपाई सकिएको हो ।

कृषि विकास निर्देशनालय डोटीका सूचना अधिकारी केशव पाण्डेले प्रदेशमा गत वर्षकै हाराहारीमा यस वर्ष रोपाई सकिएको बताए । उनका अनुसार प्रदेशमा सबैभन्दा बढी बझाङमा ७० प्रतिशत र सबैभन्दा कम बाजुरामा ३४ प्रतिशत रोपाइमा सकिएको छ ।

यस्तै डडेल्धुरामा ५१ दशमलव ९९ प्रतिशत, दार्चुला ३१ प्रतिशत, डोटीमा ३५ प्रतिशत, अछाम ६५ प्रतिशत, कैलालीमा ४० प्रतिशत, कञ्चनपुरमा ४२ प्रतिशत, बैतडीमा ६१ प्रतिशत रोपाई सकिएको छ । यस वर्ष प्रदेशमा कुल १ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ ।

 यस वर्ष मनसुनी वर्षा विगतको भन्दा केही छिट्टै सुरु हुने पूर्वानुमानका कारण किसानले धानको ब्याड राखेर रोपाइको तयारी गरे पनि पर्याप्त वर्षा नहुँदा रोपाई कम भएको सूचना अधिकारी पाण्डेले बताए ।

सुदूरपश्चिमको अन्नको भण्डार मानिने कैलालीमा पनि पर्याप्त वर्षा नहुँदा किसानहरूले रोपाई गर्न पाएका छैनन् । कृषि ज्ञान केन्द्र कैलालीका सहायक कृषि प्रसार अधिकृत मदनराज जैसीले मौसम विभागको पूर्वानुमानअनुसार वर्षा सुरु भएर पनि हाल वर्षा रोकिदा अपेक्षित रोपाइ हुन नसकेको बताए ।

कैलालीमा रानी जमरा र कुलरिया नहरको साथै बोरिङको सिँचाइ सुविधा भएको जिल्लाको दक्षिण पूर्वी भेगमा पर्ने भजनी, टीकापुर, जोशीपुर, गौरीगंगा र घोडाघोडी क्षेत्रमा असार पहिलो सातादेखि नै रोपाइँ भइरहेको छ ।

clock आइतबार १५, असार २०८२ ०८:५५

प्रतिक्रिया