कैलाली कारागारका कैदी मृत्यु प्रकरण : अनुसन्धानका लागी हेटक्वाटरकाे प्रहरी टाेली धनगढीमा

  आइतबार ०८, असार २०८२ १८:५०

धनगढी । कैलाली जिल्ला कारागारमा कैद भुक्तानको क्रममा रहस्यमय रुपमा मृत्यु भएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको घटनामा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयको टोली धनगढी पुगेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीको नेतृत्वमा प्रहरी उपरीक्षक (एसपी), डिएसपी, इन्सपेक्टर तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकृतहरु सम्मिलित विशेष टोलीले घटनाबारे विभिन्न कोणबाट छानबिन गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

छानबिन टोली ५ असारमा धनगढी आइपुगेको हो। उक्त टाेलीले घटनाबारे विभिन्न काेणबाट अनुसन्धान गरिरहेकाे छ ।

पालिकी श्रीमती जानकी साउँदले घटनापछि जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा सई नाथलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

नाथ स्वयं पालीविरुद्ध दायर बैंकिङ कसुरसम्बन्धी मुद्दाका वादी थिए। सोही मुद्दामा जिल्ला अदालतले २०८० फागुनमा पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। डडेल्धुराबाट पक्राउ गरी ३० गते धनगढी ल्याइएको थियो।

३१ गते शनिबार परेकाले उनलाई असार १ गतेमात्र जिल्ला अदालत पेश गरी कारागार चलान गरिएको थियो।

तर असार २ गते राति साढे १० बजेतिर कारागारको बाथरुम नजिकै पाली अचेत अवस्थामा फेला परेका थिए। तत्कालै सेती प्रादेशिक अस्पताल लगिए पनि उपचारका क्रममा सोही राति मृत्यु भएको थियो।

पालिको मृत्यु भएपछि परिवारले घटनालाई शंकास्पद बताउँदै शव बुझ्न अस्वीकार गरेका थिए। पालीका शरीरमा चोटपटक देखिएको भन्दै श्रीमती जानकी साउँदले कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गराएकी थिइन्।

उनले प्रहरी सई नाथसहित कारागार प्रमुख बसन्त बहादुर खत्री र अन्य चार जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। तर प्रहरीले जाहेरी सच्याउन निर्देशन दिएपछि बिहीबार उनले नाथविरुद्ध मात्र जाहेरी दिएकी थिइन्।

जाहेरीपछि पक्राउ परेका सई नाथलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ। सोही घटनापछि पाँच दिनसम्म शव नबुझेको मृतक परिवारले अन्ततः शुक्रबार बिहान शव बुझेको हो।

clock आइतबार ०८, असार २०८२ १८:५०

प्रतिक्रिया