कैलालीमा भाउजूको हत्या आरोपित देवर सार्वजनिक
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी २० वर्षीय सुत्केरी तुलसी नाथको हत्या आरोपित सार्वजनिक गरिएको छ । आइतबार इलाका प्रहरी कार्यालय मालाखेतीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपित सहोदर देवर नवीन नाथलाई सार्वजनिक गरिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दले घर नजिकै पानीको नालामा फेला परेको घटनाको सूक्ष्म अनुसन्धान गर्दा हत्या गरेको खुल्न आएको बताए । ‘प्रहरी जाँदा सम्म मृतकको शव घर अगाडि नालाबाट निकालेर आँगनमा राखिएको थियो’ उनले भने ‘मृतकको शव जाँच गर्दा कानमा लगाएको सुनका गरगहना निकाली लगेको अवस्थामा पाइएको थियो ।’
उनले हत्या आरोपित नवीनले राती अन्दाजी १२ बजेको समयमा मृतका तुलसीको कोठामा प्रवेश गरेर सुतिरहेको अवस्थामा नाक, मुख र घाटी समेत च्यापेर मारेको खुल्न आएको बताए । उनले ढोका बन्द नभएकाले हत्या आरोपित नवीन मृतक तुलसीको कोठामा पसेर हत्या गरेको बताए ।
उनले हत्या गरेपछि आरोपित नवीनले गरगहना निकालेर शव घर नजिकै नालामा फालेको बताए । गरगहना घर नजिकै ढुङ्गा मुनि लुकाएको अवस्थामा फेला परेको उनले बताए । प्रहरीले मृतकका गहना आरोपितले भनेकै ठाउँमा लुकाएको अवस्थामा भेटेकाले त्यसैलाई पनि हत्या गरेको पुष्टि हुने आधारका रूपमा लिएको छ ।
प्रहरीले घरायसी सामान्य विवादका कारण हत्या गरेको खुल्न आएको जनाएको छ । ‘त्यही दिन भएको कुनै ठुलो घटना केही पनि छैन । विगत लामो समय देखि सानोतिनो मनमुटाबहरू भइरहेको बुझिएको छ’ डिएसपी पाण्डेले भने ‘हत्या आरोपित पहिले भारतमा काम गर्दै आएका थिए । पछि काँप्ने लगायतका समस्या भएर उनी चैत महिनामा घरमा आएका रहेछन् । त्यो अवस्थामा घरमा कमाउने व्यक्ति भारतमा रहेका मृतकका श्रीमान् मात्रै भएको अवस्थामा श्रीमानले श्रीमतीको नाममा पैसा पठाउने गर्दा घरको आर्थिक व्यवहार मृतकले नै हेर्ने भएकाले थोरै केही विवाद भएको कुरा आएका छन् ।’ उनले आरोपितमा मानसिक रूपमा कुनै समस्या नदेखिएको बताए ।
मृतक तुलसीले हत्या भएको १६ दिन अघि मात्रै छोरालाई जन्म दिएकी थिइन । अहिले नवजात शिशुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले मृतकका सासू, ससुरा, पहाडमा रहेको र श्रीमान् भारतमा रोजगारीको सिलसिलामा रहेको अवस्थामा घटना भएको बताएको छ ।
प्रहरीले मृतकको माइते पक्षले आइतबार जाहेरी दिएकाले पोस्टमार्टम प्रक्रिया पनि अघि बढ्ने बताएको छ । उनले आरोपित माथि कत्र्यव्य जान मुद्दामा अनुसन्धान भइहरेको बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बाल नरसिंह राणाले निकै जटिल मुद्दालाई इलाका प्रहरी कार्यालय मालाखेतीले उत्कृष्ट अनुसन्धान गरेर दोषी पहिचान गरेको बताए । उनले भने ‘जुन अवस्थामा हत्या गरिएको छ । शव फेला परेको छ । यो अनुसन्धान गर्न निकै गाह्रो विषय थियो । यसमा इप्रका मालाखेतीको अनुसन्धान टिमले एकदमै उत्कृष्ट काम गरेको छ । म यसको सराहना गर्छु र, उक्त टिमलाई आजै म पुरस्कृत पनि गर्छु ।’
प्रतिक्रिया