कैलालीको कैलाशपुरमा सुत्केरी भाउजुको देवरबाटै हत्या
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्या भएको खुलेको छ । प्रहरीले नाथको हत्या गरेको अभियोगमा उनकै सहोदर देवर नवीन नाथलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले नवीनलाई पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार नवीनले सुनका गहनाका लागि आफूले भाउजु सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरेको बयान दिएका छन् ।
उनले भाउजुको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको अवस्थामा फेला परेका छन्। नाथ शुक्रबार बिहान घर नजिकैको नालामा मृत भेटिएकी थिइन् ।
उनको १६ दिनको नवजात शिशु भने सकुशल फेला परेको थियो । प्रहरीले बाहिर घाउचोट नदेखिएका कारण उनको मृत्युको कारण पत्ता लगाउन सकेको थिएन तर कानमा लगाएका गहना फेला नपरेपछि उक्त कोणबाट अनुसन्धान गर्दा हत्या भएको तथ्य फेला भेटिएको थियो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नर सिंह रानाले जटिल अवस्थामा पुगेको घटनालाई सूक्ष्म अनुसन्धान गरेर सफलता प्राप्त भएको बताए ।
उनले जिल्ला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको विशेष टोलीले घटनाको तथ्य उजागर गरेको बताएका छन्।
प्रतिक्रिया