कैलालीमा कैदीबन्दी मृत्यु प्रकरण : प्रहरीका सई नाथ पक्राउ
धनगढी । कैदीबन्दी मृत्यु प्रकरणमा जोडिएका जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन् ।
कैलाली कारागारमा कैदीबन्दी रहेका डडेल्धुराको भागेश्वर गाउँपालिकाका २८ वर्षीय हरीसिंह पालीको मृत्यु घटनाको अनुसन्धानका लागि सई नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले नाथविरुद्व किटानी जाहेरी आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । ‘जाहेरी दर्ता भइसकेको छ,’ डीएसपी सिंहले भने, ‘अब शव परीक्षण गरेर परिवारलाई बुझाउने तयारी छ ।’
मृतक पाली दोषी ठहर भएको बैंकिङ कसुर मुद्दा प्रहरीका सई नाथले नै दिएका थिए । नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले ०८० सालको फागुन २९ गते १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो ।
बैंकिङ कसुरमा दोषी ठहर भएका पालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पालीलाई २९ जेठमा पक्राउ गरेको थियो । डडेल्धुरा प्रहरीले एक दिन थुनामा राखेर ३० गते कैलाली प्रहरीलाई बुझाएको थियो । कैलाली प्रहरीले भने १ गते मात्रै पालीलाई कैलाली कारागारमा बुझाएको थियो ।
कारागार चलान भएको दोस्रो दिन नै पालीको मृत्यु भएपछि आफन्तले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् । पालीको शरीरभरि निलडाम थियो ।
प्रहरीले भने एक्कासी बिरामी भएका पालीको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको बताएको थियो । मृतक पालीकी श्रीमती जानकीले दिएको जाहेरीमा आफ्ना श्रीमानमाथि सई पालकै योजनामा कुटपिट गरेर हत्या गरिएको दाबी गरिएको छ ।
घटनाको छानबिनका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाइएको छ ।
प्रतिक्रिया