कैलाली कारागारका कैदीको मृत्यु : सहायक प्रजिअ जाेशिको संयोजकत्वमा छानबिन समिति गठन
कैलाली कारागारका कैदीको मृत्यु : सहायक प्रजिअ जाेशिको संयोजकत्वमा छानबिन समिति गठन
धनगढी । कैलाली कारागारमा अचेत अवस्थामा भेटिएर उपचारको क्रममा एक कैदीको मृत्यु भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन्।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले उक्त समितिलाई सात दिनभित्र घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।
मृत्यु भएका व्यक्ति डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पाली हुन्। उनी बैंकिङ कसुर मुद्दामा १ असारमा पक्राउ परेका थिए। २ असारको राति उनी कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला परेपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा सोही रात मृत्यु भएको हो।
पालीको शरीरमा चोटपटक देखिएको भन्दै पीडित परिवारले हत्या भएको शंका व्यक्त गरेका छन्। घटनाको निष्पक्ष छानबिनको माग गर्दै उनीहरूले शव बुझ्न मानेका छैनन्। घटनाप्रति आक्रोशित परिवारजनले बुधबार डडेल्धुरामा राजमार्गसमेत अवरुद्ध गरेका थिए।
सम्बन्धित पक्षले छानबिन प्रतिवेदनपछि मात्र आवश्यक निर्णय लिइने जनाएका छन्।
प्रतिक्रिया