एमालेले गोदावरीमा महाधिवेशन प्रतिनिधि भेला गर्ने

  बिहिबार १५, चैत २०८० १०:३१

काडमाडौँ । एमालेले ललितपुरको गोदावरीमा पार्टीको दशौँ महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला गर्ने भएको छ । पार्टी स्थापना ७५ वर्ष प्रवेश गरेको दिन ९ वैशाखलाई विशेष समारोहका रूपमा मनाउने गरी एमालेको २५ फागुनको सचिवालय बैठकले ७ र ८ वैशाखमा महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय गरेको थियो । मिति तय भए पनि हल व्यवस्थापनको टुंगो लागिनसकेकाले स्थान तय भइसकेको थिएन । 

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले ललितपुरको गोदावरीमा अवस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महाधिवेशन प्रतिनिधि भेला गर्ने गरी हल व्यवस्थापन भएको जानकारी दिए । भेलामा देशभरबाट करिब २३ सय महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

केन्द्रीय सचिवालयका तर्फबाट अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले महाधिवेशन प्रतिनिधि परिषद् भेलामा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदनको मस्यौदा लेखन गरिरहेका छन् । सोही स्थानमा एमालेले पार्टीको विधान महाधिवेशन पनि सम्पन्न गरेको थियो ।

स्थापना दिवसमा सार्वजनिक गर्ने गरी एमालेले पार्टीको इतिहाससम्बन्धी पुस्तक, मुलुकको राजनीतिक परिवर्तन र विभिन्न आन्दोलनमा पार्टीले खेलेको भूमिकाबारे बेग्लाबेग्लै दुई पुस्तक प्रकाशनको तयारी गरिरहेको छ । त्यसका लागि पदाधिकारी तहका नेताहरूको नेतृत्वमा अलग–अलग टिम सक्रिय छ । त्यस्तै, पहिलो महाधिवेशनदेखि दशौँ महाधिवेशनसम्मका झलक आउने गरी वृत्तचित्र निर्माण, भूमिगतकालका सहयोगीको सम्मानलगायत कार्यक्रम पनि राखेको छ ।

clock बिहिबार १५, चैत २०८० १०:३१

प्रतिक्रिया