होलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ–प्रधानमन्त्री

  आइतबार ११, चैत २०८० ०७:१०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 

होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्नेसमेत बताएका हुन् । 

“पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा (होलीपर्व) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उनले भनेका छन् , “होलीपर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण नेपालीहरूमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु ।” 

असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होलीपर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने उनको भनाइ छ ।

“नेपाली समाजमा विद्यमान बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले हाम्रो राष्ट्रिय स्वाभिमान र गौरवलाई मात्रै स्थापित गरेका छैनन्, एकले अर्काको पहिचान, स्वाभिमान र संस्कृतिलाई सम्मान र आत्मसात् गर्ने राष्ट्रिय संस्कृतिको विकाससमेत गरेका छन् । रङहरूको पर्वका रूपमा स्थापित होलीपर्व पनि त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ”, शुभकामना सन्देशमा उनले भनेका छन् । 

प्रधानमन्त्री दाहालले भौगोलिक दृष्टिले सानो भएर पनि दर्शन, सभ्यता, संस्कृति, पर्वहरू एवं विशिष्ट पहिचानका कारण नेपाल विश्व मानचित्रमा वैभवशाली देशका रूपमा स्थापित भएको बताएका छन् । उनले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपलीको साझा पहिचान भएको बताउनुहँुदै प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू रहेको समेत उल्लेख गरेका छन् ।

“हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन् । समुदायलाई एकताबद्ध गर्न सघाउँछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन्”, शुभकामना सन्देशमा उनले भनेका छन् ।

clock आइतबार ११, चैत २०८० ०७:१०

प्रतिक्रिया